काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले दशैं, तिहार र छठअघि देशभरका सडक मर्मत तथा सरसफाइ गर्न निर्देशन दिएका छन्।
प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनसम्बन्धी प्रतिवेदन बुझाएपछि मन्त्री लम्सालले तत्काल काम अघि बढाउन मन्त्रालयका सचिव तथा सम्बन्धित निकायलाई निर्देशन दिएको हाे ।
मन्त्री लम्सालले वर्षाका कारण क्षति पुगेका सडक मर्मत गर्न, खाल्डाखुल्डी पुर्न र सडक सरसफाइ गर्न निर्देशन दिएका हुन्। चाडपर्वमा गाउँघर जाने यात्रुलाई सहज हुने गरी सडकको अवस्था सुधार गर्न उनले जोड दिएका छन्। यात्रुको आवागमनलाई सुरक्षित, सहज र मर्यादित बनाउनुपर्ने उनले बताएका छन् ।
पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलको नेतृत्वमा गएको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री लम्साललाई एक प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा चाडपर्वमा यात्रुको चापअनुसार पर्याप्त सवारीसाधन व्यवस्थापन गर्न तथा निर्धारित बसपार्क र टिकट काउन्टरबाट मात्र सेवा सञ्चालन गर्न सुझाव दिइएको छ।





प्रतिक्रिया