१८ वर्षीय कमल परियार कांग्रेसको प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत


सुर्खेत । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नं. १ बाट १८ वर्षीय कमल परियार कर्णाली प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित भएका छन्।

सिम्ता गाउँपालिकाको ग्रामीण परिवेशमा सामान्य किसान परिवारमा हुर्किएका परियारको परिवारमा यसअघि कुनै राजनीतिक पृष्ठभूमि थिएन। तर, सानै उमेरदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय उनी बाल कांग्रेस हुँदै विद्यार्थी र युवा संगठन तथा विभिन्न सामाजिक अभियानमा जोडिँदै आएका छन्।

युवा तथा बालबालिकाका सवाल, शिक्षा, सामाजिक न्याय, समावेशिता र युवाको राजनीतिक सहभागिताका विषयमा सक्रिय रहँदै आएका परियारले १८ वर्षकै उमेरमा पार्टीको प्रदेश महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाएका हुन्।

प्रदेश महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएपछि परियारले आफूले पाएको जिम्मेवारीलाई नयाँ पुस्ताको आवाज पार्टीको नीति, संगठन र निर्णय प्रक्रियासम्म पुर्‍याउने अवसरका रूपमा लिएको बताएका छन्।

ग्रामीण क्षेत्रबाट राजनीतिक यात्रा सुरु गरेका परियारको यो जिम्मेवारीलाई कांग्रेसभित्र नयाँ पुस्ताको राजनीतिक सहभागिताको उदाहरणका रूपमा हेरिएको छ।