पहिलोपटक प्रधानमन्त्रीको उपस्थितिविना हुँदै कांग्रेस महाधिवेशन


काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन इतिहासमै पहिलाेपटक प्रधानमन्त्रीको उपस्थितिविहीन हुने भएको छ। आगामी असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी नहुने भएसँगै कांग्रेसको १५औँ महाधिवेशन प्रधानमन्त्रीकाे उपस्थितिविहीन हुने भएकाे हाे ।

कांग्रेसको इतिहासमा महाधिवेशनका क्रममा बहालवाल प्रधानमन्त्रीको उपस्थिति रहँदै आएको थियाे । विगतमा प्रधानमन्त्री स्वयं कांग्रेसको सभापति रहेका अवस्थामा होस् वा अन्य दलका प्रधानमन्त्री रहेका बेला, महाधिवेशन उद्घाटन समारोहमा प्रधानमन्त्रीको सहभागिता हुँदै आएकाे देखिन्छ।

कांग्रेसको पहिलाे महाधिवेशन भारतको कलकत्ता, भवानीपुरस्थित खालसा हाइस्कुलमा २००६ साल चैत २७ गते भएकाे थियाे । कांग्रेसको दाेस्राे महाधिवेशन भारतकाे वनारसमा २००४ माघ २० देखि २२ गतेसम्म सम्पन्न भएकाे थियाे भने महाधिवेशनबाट बिपी कोइराला सभापतिमा निर्वाचित भएका थिए । २००५ फागुन १८ गते भारतको बिहार राज्यको दरभङ्गामा सम्पन्न तेश्रो महाधिबेशनबाट मातृकाप्रसाद कोइराला कार्यवाहक अध्यक्ष बने । चौथो महाधिवेशन २००६ साल चैत २७ गते
कलकत्ताको टाइगर हलमा पार्टीको चौथो महाधिवेशन सम्पन्न भयो । 

पाचौँ महाधिवेशन २००९ जेठ १० देखि १३ गतेसम्म जनकपुरमा सम्पन्न भएको थियो भने छैटौँ महाधिवेशन २०१२ साल माघमा वीरगन्जमा सम्पन्न भएकाे थियाे । सातौँ महाधिवेशन २०१६ बैशाख २५ देखि ३१ गतेसम्म काठमाडौँमा सम्पन्न भयाे ।

कांग्रेसको आठौँ महाधिवेशन २०४८ फागुन १ देखि ३ गतेसम्म झापामा, नवौँ २०५३ वैशाख २६ देखि २८ गतेसम्म काठमाडौंमा, दसौँ २०५७ माघमा पोखरामा, एघारौँ २०६२ भदौमा काठमाडौंमा, बाह्रौँ २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा, तेह्रौँ २०७२ फागुन २० देखि २३ गतेसम्म काठमाडौंमा र चौधौँ २०७८ मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा सम्पन्न भएका थिए।

२०४८ सालमा कांग्रेसको आठौँ महाधिवेशन हुँदा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए। सोही महाधिवेशनबाट कृष्णप्रसाद भट्टराई पार्टी सभापतिमा निर्वाचित भएका थिए। त्यसबेला सरकारको नेतृत्व कोइरालाले र पार्टीको नेतृत्व भट्टराईले गरेका थिए।

२०५३ सालको नवौँ महाधिवेशनका बेला पनि गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री थिए। काठमाडौंमा भएको उक्त महाधिवेशनबाट कोइराला पार्टी सभापति निर्वाचित भए। त्यसपछि २०५७ सालमा पोखरामा भएको दसौँ महाधिवेशनमा पनि कोइराला प्रधानमन्त्री रहेकै अवस्थामा पार्टी सभापतिका रूपमा दोहोरिए।

२०६२ सालको एघारौँ महाधिवेशन भने कांग्रेस विभाजनको अवस्थाबीच भएको थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वको नेपाली कांग्रेसले २०६२ भदौ १४ देखि १७ गतेसम्म काठमाडौंमा महाधिवेशन गरेको थियो भने शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस (प्रजातान्त्रिक) अलगै अस्तित्वमा थियो।

२०६७ सालमा भएको बाह्रौँ महाधिवेशनका बेला प्रधानमन्त्री माधवकुमार नेपाल थिए। काठमाडौंको खुलामञ्चमा भएको उद्घाटन समारोहमा प्रधानमन्त्रीसहित शीर्ष राजनीतिक नेतृत्वको सहभागिता थियाे ।

त्यसपछि २०७२ सालको तेह्रौँ महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं उद्घाटन समारोहमा सहभागी भएर शुभकामना मन्तव्य दिएका थिए। कांग्रेसको १३औँ महाधिवेशनको उद्घाटन २०७२ फागुन २० गते खुलामञ्चमा भएको थियो। तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेलले महाधिवेशन उद्घाटन गरेका थिए भने प्रधानमन्त्री ओलीसहित प्रमुख राजनीतिक दलका नेताहरू सहभागी थिए।

२०७८ सालको चौधौँ महाधिवेशनमा त कांग्रेस सभापति नै प्रधानमन्त्री शेरबहादुर देउवा थिए। उनले भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गरेका थिए।

तर अहिले अवस्था फरक छ। कांग्रेसको १५औँ महाधिवेशन गगनकुमार थापाको नेतृत्वमा हुँदैछ भने सरकारको नेतृत्व रास्वपाकाे वरिष्ठ नेतासमेत रहेका बालेन्द्र शाहले गरिरहेका छन्। शाह २०८२ चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका हुन्।

कांग्रेसले १५औँ महाधिवेशनको उद्घाटनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतलाई निमन्त्रणा गरेको छ। तर प्रधानमन्त्री शाहलाई भने कांग्रेसले औपचारिक रुपमा निमन्त्रणा दिएको छैन । ‘हामीले उहाँको पार्टीलाइ निमन्त्रणा दिइसकेका छौँ । पार्टीबाट अब को आउँछ भन्ने कुरा हो’ कांग्रेस प्रवक्ता देवराज चालिसेले भने ।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुँदैछ ।