राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति हुन्छ : कानुनमन्त्री



काठमाडौं ।  सरकारले राष्ट्रियसभामा रिक्त रहेका दुवै सदस्य यथाशीघ्र पदपूर्ति गर्ने बताएको छ । 

राष्ट्रियसभाको बैठकमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले रिक्त पदका लागि निर्वाचन आयोगले प्रचलित कानुन बमोजिम निर्वाचनको प्रक्रिया अघि बढाइरहेको जानकारी दिइन् । 

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने सदस्यको पदपूर्तिका लागि संविधानले परिकल्पना गरेको समावेशिता, योग्यता, राष्ट्रिय जीवनमा पुर्‍याएको योगदान तथा राष्ट्रियसभाको गरिमा र भूमिकालाई ध्यानमा राखी उपयुक्त व्यक्तिको सिफारिस गर्ने प्रक्रिया यथाशीघ्र सम्पन्न हुने उनले बताइन्। 

मन्त्री गौतमले राजनीतिक तथा सरकार परिवर्तनको सङ्क्रमणकालीन अवस्थाका कारण मनोनीत सदस्यको विषय समयमै निष्कर्षमा पुग्न नसकेको बताउँदै संसद्का सदस्यको पद रिक्त राख्नु उपयुक्त नहुनेमा सरकार सचेत रहेको बताइन् । 

आगामी दिनमा संघीय संसद्, निर्वाचन आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबीच प्रभावकारी समन्वय गरी राष्ट्रियसभामा पद रिक्त भएपछि पदपूर्तिका लागि गर्नुपर्ने सिफारिस वा निर्वाचनसम्बन्धी प्रक्रिया समयमै प्रारम्भ गरिने उनको भनाइ छ । रासस