काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले फिजी, तुभालु र अस्ट्रेलियाको भ्रमण गर्ने भएका छन् ।
उनी असोज १७ देखि भ्रमणमा रहनेछन् । परराष्ट्रमन्त्री खनाल प्रि–कोप कार्यक्रममा सहभागी हुन फिजी र तुभालु जान लागेका हुन् ।
“परराष्ट्रमन्त्री शिशिर खनाल यही २०८३ असोज १७ गते फिजी र तुवालुमा असोज १९–२० गतेसम्म आयोजना हुने प्रि–कोप कार्यक्रममा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै फिजीतर्फ प्रस्थान गर्नुहुनेछ,” परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
परराष्ट्रमन्त्री खनालले असोज २० मा प्रि–कोप कार्यक्रमलाई सम्बोधन गर्ने विज्ञप्तिमा जनाइएको छ । प्रि–कोपको पूर्ण सत्रअघि परराष्ट्रमन्त्री खनालले अस्ट्रेलिया र फिजीका प्रधानमन्त्रीहरूसँगै सञ्चारमाध्यमको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुनेछन् ।
प्रि–कोप नेताहरूको कार्यक्रममा सहभागितापछि परराष्ट्रमन्त्री खनाल अस्ट्रेलिया प्रस्थान गर्नेछन् । अस्ट्रेलियामा उनी असोज २२ गते आफ्ना अस्ट्रेलियाली समकक्षी पेनी वोङसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् ।
आफ्नो भ्रमणका क्रममा मन्त्री खनालले क्यानबेरास्थित नेपाली दूतावास र सिड्नीमा नेपाली समुदायद्वारा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा पनि सहभागी हुनेछन् । परराष्ट्रमन्त्री खनालको असोज २६ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।




प्रतिक्रिया