काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीका नेता–कार्यकर्ताको विश्वास टुट्न नदिने बताएकी छन्।
काठमाडौंको कार्की ब्यांक्वेटमा जारी राष्ट्रिय भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू कुनै पनि पदप्रति आशक्त नरहेको बताइन्। राष्ट्रपति जस्तो सर्वोच्च संवैधानिक पदमा पुगिसकेको उल्लेख गर्दै उनले पार्टी राजनीतिमा फर्किने निर्णय व्यक्तिगत पद, सुविधा वा अवसरका लागि नभएको स्पष्ट पारिन्।
भण्डारीले पार्टीको वैचारिक विकास, संगठनात्मक सुदृढीकरण, सामाजिक–आर्थिक रूपान्तरण र राष्ट्रिय जिम्मेवारीमा योगदान पुर्याउने उद्देश्यले राजनीतिमा फर्किएको बताइन्।
उनले कलिलो उमेरदेखि नै एमालेको संगठन निर्माण, लोकतान्त्रिक आन्दोलन, राष्ट्रियताको संवर्द्धन र विभिन्न राजनीतिक जिम्मेवारीमा सक्रिय रहँदै आएको स्मरण गरिन्।
पार्टीकै निर्णयअनुसार राष्ट्रपतिको निर्वाचनमा सहभागी भएर विजयी भएको र करिब सात वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेको उल्लेख गर्दै उनले संवैधानिक मर्यादाभित्र रहेर देश र जनताको हितमा काम गरेको बताइन्।




प्रतिक्रिया