काठमाडौँ। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि शेरबहादुर देउवा समूहले प्रस्ताव गरेको कार्यतालिका निर्वाचन आयोगले अभिलेखमा राखेको छ।
देउवा नेतृत्वको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले असोज १३ गते निर्वाचन आयोगलाई पत्र पठाउँदै महाधिवेशनको तयारी र प्रक्रियाबारे जानकारी गराएको थियो। उक्त पत्र प्राप्त भएपछि प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले कार्यतालिकालाई अभिलेखमा राख्न तथा त्यसैअनुसार फाइल तयार गर्न बिहीबार तोक आदेश दिएका हुन्।
देउवा समूहले आयोगलाई बुझाएको कार्यतालिकाअनुसार आगामी मंसिर २१, २२ र २३ गते काठमाडौंमा कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। महाधिवेशनको प्रारम्भिक प्रक्रिया भने असोज १५ गते वडा अधिवेशनबाट सुरु गर्ने र त्यसपछि क्रमशः पालिका, प्रदेश तथा अन्य तहका अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रहेको छ।
पत्रमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पदावधि विधानअनुसार थपिएको अवधिसहित आगामी मंसिर मसान्तमा समाप्त हुने भएकाले नयाँ महाधिवेशनको मिति निर्धारण गरिएको उल्लेख छ।
त्यस्तै, कांग्रेसभित्रको आन्तरिक विवाद तथा निर्वाचन आयोगको यसअघिको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दाबारे पनि देउवा समूहले आयोगलाई जानकारी गराएको छ। उक्त मुद्दामा सर्वोच्च अदालतबाट पुनरावलोकनको अनुमति प्राप्त भई सुनुवाइको प्रक्रिया अघि बढिरहेको जनाउँदै महाधिवेशनपछि निर्वाचित नयाँ पदाधिकारीको विवरण कानुनबमोजिम आयोगमा अद्यावधिक गरिने पत्रमा उल्लेख गरिएको छ।
कांग्रेस संस्थापन पक्षले असोज १८ गतेदेखि काठमाडौंमा महाधिवेशन गर्ने तयारी गरिरहेका बेला देउवा समूहले भने छुट्टै कार्यतालिकासहित आयोगमा पत्र बुझाएको हो।





प्रतिक्रिया