काठमाडौँ । यस वर्षको मनसुन प्रणाली नेपालबाट बाहिरिने क्रम अबको एक–दुई दिनभित्रै सुरु हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन प्रणाली कमजोर हुँदै गएकाले सर्वप्रथम पश्चिम नेपालबाट यसको बहिर्गमन प्रक्रिया सुरु हुन लागेको हो।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार अबको केही दिनमा पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु हुनेछ। त्यसपछि यो प्रणाली क्रमशः पूर्वी नेपालतर्फ सर्दै देशैभरिबाट पूर्ण रूपमा बिदा हुनेछ। सामान्यतया नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ र बाहिरिने औसत मिति अक्टोबर २ मानिन्छ।
मनसुनको बहिर्गमनसँगै यस प्रणालीका कारण हुने लगातारको वर्षाको अन्त्य हुनेछ। तर, मनसुन सकिनुको अर्थ वर्षा पूर्ण रूपमा रोकिनु भने होइन। मनसुनी प्रणाली अन्त्य भए पनि पश्चिमी वायु तथा स्थानीय मौसमी प्रणालीका कारण बीच-बीचमा वर्षा हुन सक्ने सम्भावना कायमै रहने विभागले जनाएको छ।




प्रतिक्रिया