मलेसिया रोजगारी विवाद: विभागले नाम हटाउन निर्देशन दिएपछि व्यवसायीहरूकाे असन्तुष्टि


काठमाडौँ । केही समय यता मलेसिया रोजगारीसम्बन्धी समस्या भइरहेकाे छ । यसकाे समाधानका लागि सरकारी तहमा कूटनीतिक पहल भइरहेकाे छ । यसैबेला वैदेशिक रोजगार विभागले अनावश्यक रुपमा निर्देशन दिएपछि म्यानपावर व्यवसायीहरूले असन्तुष्टि जनाएका छन्।

मलेसियाको ‘फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम’ (एफडब्ल्यूसीएमएस) मा सूचीकृत २५ मुख्य तथा २५० एसोसिएट म्यानपावर कम्पनीलाई सूचीबाट आफ्नो नाम हटाउन विभागले इमेलमार्फत निर्देशन दिएपछि व्यवसायीहरू थप असन्तुष्ट बनेका हुन्।

यस विषयमा सम्बन्धित म्यानपावर कम्पनीहरूले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा यसअघि नै स्पष्टीकरण बुझाइसकेका छन्। तर, दुई देशबीच समस्या समाधानका लागि कूटनीतिक र राजनीतिक संवाद भइरहेका बेला विभागले दबाब दिने गरी निर्देशन दिएको व्यवसायीहरूको आरोप छ।

व्यवसायीहरूले विभागको निर्देशनको कानुनी तथा वस्तुगत आधारमाथि समेत प्रश्न उठाएका छन्। सरकारबाट मलेसिया रोजगारीबारे स्पष्ट नीति नआउँदा व्यवसायी र श्रमिक दुवैमा अन्योल बढेको उनीहरूको भनाइ छ।

व्यवसायीहरूका अनुसार एफडब्ल्यूसीएमएसबाट स्वेच्छिक रूपमा नाम हटाउँदा भविष्यमा मलेसिया सरकारले सम्बन्धित एजेन्सीलाई स्थायी रूपमा कालोसूचीमा राख्न सक्ने जोखिम छ। त्यसैले समस्या समाधानको सट्टा एकतर्फी रूपमा नाम हटाउने कदमले अवस्था थप जटिल बन्न सक्ने उनीहरूले बताएका छन्।