प्रधानमन्त्री कार्यालयमा ‘संसद् डेस्क’ स्थापना गर्न सांसद बुढाथोकीकाे माग


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले संसद्मा उठ्ने जनसरोकारका विषयलाई प्रभावकारी रूपमा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘संसद् डेस्क’ स्थापना गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सांसदहरूले उठाएका विषय सम्बन्धित मन्त्रालयसम्म पुर्‍याउने, त्यसको कार्यान्वयन अवस्थाबारे निरन्तर निगरानी गर्ने र सांसदलाई प्रगतिको जानकारी दिने संयन्त्र आवश्यक रहेको बताए।

संसद्मा जनताका समस्या र सुझाव प्रत्यक्ष रूपमा प्रस्तुत हुने भएकाले ती विषयलाई सरकारको कामकारबाहीसँग जोड्नुपर्ने उनको भनाइ थियो। सदनमा उठेका विषय केवल अभिलेखमा सीमित नभई व्यवहारमा सम्बोधन हुनुपर्नेमा उनले जोड दिए।

बुढाथोकीले चालु अधिवेशनमा शून्य, विशेष र आकस्मिक समय तथा विधेयकमाथिको सैद्धान्तिक छलफललगायतका क्रममा ४२ पटक धारणा राखेको जानकारी दिए। ती क्रममा आफ्नो निर्वाचन क्षेत्र रामेछापका साथै राष्ट्रिय आर्थिक, सामाजिक तथा विकासका विषय उठाएको उनले बताए।

सुशासन, समृद्धि, सदाचार र सुसंस्कृत राजनीतिक संस्कार निर्माणका विषयमा समेत आफूले निरन्तर आवाज उठाउँदै आएको बुढाथोकीले उल्लेख गरे।

‘सांसदहरूले सदनमा उठाएका विषय भाषण र संसद्को रेकर्डमा मात्र सीमित हुनुहुँदैन। त्यसको कार्यान्वयन र प्रगतिको नियमित अनुगमन हुनुपर्छ।’

प्रधानमन्त्री कार्यालयमा छुट्टै ‘संसद् डेस्क’ भएमा सदनमा उठेका विषयको सुनुवाइ, सम्बन्धित निकायमा समन्वय र कार्यप्रगतिको अनुगमन प्रभावकारी हुने उनको भनाइ थियो।