काठमाडौँ । प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सरकार संसद् र जनताका सवालप्रति जिम्मेवार बन्न नसकेको आरोप लगाएका छन्।
शुक्रबार बजेट अधिवेशनको अन्तिम चरणमा संसद्मा बोल्दै उनले सरकार गठन भएको ६ महिना बित्दा पनि आफ्ना प्रतिबद्धता कार्यान्वयन हुन नसकेको तथा जनजीविका, रोजगारी र अर्थतन्त्रका समस्यामा अपेक्षित सुधार नदेखिएको बताए।
उनले चालु अधिवेशनको सुरुवातमै संसद् स्थगित गरी अध्यादेश ल्याइएको भन्दै कार्यपालिकाले व्यवस्थापिकालाई छल्ने प्रवृत्ति देखाएको दाबी गरे। संसद्मा सांसदहरूले जनसरोकारका हजारौँ विषय उठाए पनि सरकारले त्यसलाई गम्भीर रूपमा नलिएको उनको आरोप थियो।
‘बर्खे अधिवेशन अन्त्यतिर पुगेको अवस्थामा संसद्का गतिविधि र सरकारको कार्यसम्पादनको समीक्षा आवश्यक छ। संसद्मा सांसदहरूले हजारौँ प्रश्न, सुझाव र जनताका समस्या उठाए पनि सरकारबाट अपेक्षित सम्बोधन हुन सकेको छैन। संसद् र सरकारबिच प्रभावकारी समन्वय देखिएको छैन,’ उनले भने ।
हमालले सभामुखको रुलिङ कार्यान्वयन, संसद्मा भएका विवादित अभिव्यक्ति तथा अधिवेशनको सुरुवातमै अध्यादेश ल्याइएको विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताए।
प्रधानमन्त्रीले संसद्को रोस्टमबाट भारतको भूभागसम्बन्धी दिएको अभिव्यक्ति तथ्यहीन भएको दाबी गर्दै उनले उक्त भनाइ संसद्को रेकर्डबाट हटाउन माग गरे।
त्यस्तै, पुँजीगत खर्च न्यून रहेको, महँगी बढेको, राजस्व लक्ष्य पूरा हुन नसकेको तथा रोजगारीको अभावमा युवाको विदेश पलायन बढेको दाबी गर्दै हमालले सरकारको सुशासनको नारा व्यवहारमा देखिन नसकेको टिप्पणी गरे।




प्रतिक्रिया