प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार: तलब तथा सेवा–सुविधा नलिएरै गर्छन् काम


काठमाडौँ । बालेन्द्र शाह(बालेन) नेतृत्वकाे सरकार गठन भएकाे ६ महिना पूरा भएकाे छ । शाह गत चैत १३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज(शुक्रबार) प्रधानमन्त्रीको सल्लाहकार, विज्ञ र स्वकीयमा कार्यरतहरूको नाम (फोटोसहित) पद र सुविधासमेत खुलाएर वेबसाइटमा सार्वजनिक गरेको छ ।

सार्वजनिक विवरण अनुसार प्रधानमन्त्री शाहको सचिवालयमा सल्लाहकार, विज्ञ र स्वकीयतर्फ गरी २५ जना रहेका छन् ।

जसमा प्रधानमन्त्री शाहका मुख्य सल्लाहकारमा कुमार व्यञ्जनकार(कुमार बेन) छन् । उनले मन्त्रीसरहको सेवा–सुविधा पाउने भए पनि अवैतनिक रूपमा काम गरिरहेको खुलेको छ।

उनलाई मन्त्रीसरहको श्रेणीमा राखिए पनि पद अवैतनिक रहेको प्रधानमन्त्री कार्यालयले जनाएको हाे । उनले मन्त्रीसरहको तलब तथा सेवा-सुविधा पाउने भएपनि लिएका छैनन् । प्रधानमन्त्री बालेन शाहको कार्यकाललाई प्रभावकारी र सफल बनाउन उनले निःस्वार्थ रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

प्रधानमन्त्री शाहकाे राजनीतिक सल्लाहकारमा असिम शाह छन् । उनी पनि मन्त्रीसरहको श्रेणीमा छन्। त्यस्तै, स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद अग्रवाल पनि मन्त्रीसरहको श्रेणीमा रहे पनि अवैतनिक स्वास्थ्य सल्लाहकार हुन्। उनले पनि तलब र अन्य सेवा-सुविधा लिएका छैनन् ।

त्यस्तै, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रलाई राज्यमन्त्रीसरहको सुविधा दिइएको छ।

प्रधानमन्त्रीको स्वकीय सचिवालयतर्फ प्रमुख स्वकीय सचिव सुवाष शर्मा, स्वकीय सचिव नवीन भण्डारी, स्वकीय सहसचिव सञ्जीव पाण्डे र दीपा दाहाल, कार्यक्रम तथा भ्रमण संयोजक सन्तोष गिरी तथा सामाजिक विकास विज्ञ विश्व राईलगायत छन्। उनीहरूलाई विभिन्न राजपत्रांकित तहसरहको सेवा–सुविधा तोकिएको छ।