सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर भएन : उपनेता हमाल


काठमाडौँ, १६ असोज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता प्रमेशकुमार हमालले सदनमा उठाइएका आवाजबारे सरकार गम्भीर नभएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले गत अधिवेशन अन्त्य भएपछि सरकारले अध्यादेश ल्याएको, चालु अधिवेशनमा सभामुखको निर्देशन पालना नभएको र प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको आरोप लगाए । उपनेता हमालले सरकारले गरेका घोषणा, प्रतिबद्धता, कार्यक्रम र बजेटमाथि समीक्षा हुनुपर्ने र लोकतान्त्रिक विधि प्रक्रियालाई पालना गर्नुपर्नेमा जोड दिए ।

सेवा प्रवाहमा प्रतिबद्धताअनुसार सरकारले काम गर्न नसकेको आरोप लगाउँदै उनले सुशासनसहित जनजीविकाका क्षेत्रमा पनि अपेक्षा गरेअनुसार काम नभएको बताए ।