काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी हुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत, श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि उद्घाटन समारोहमा सहभागी हुने निश्चित भएको उनले बताए ।
विदेशी अतिथिहरूमा सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आएकी छन् । अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता सुनिश्चित हुने क्रम जारी रहेको चालिसेले बताए ।
असोज १८ गते कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन हुँदै छ । महाधिवेशनमा १९ र २० गते बन्दसत्र सञ्चालन हुनेछ । असोज २१ र २२ गते निर्वाचनका प्रक्रियाहरू हुने जानकारी दिइएको छ । १५औँ महाधिवेशनमा सर्वसम्मतिले नेतृत्व चयनलाई प्राथमिक्ता दिइने बताइएको छ ।




प्रतिक्रिया