काठमाडौं । त्रिपुरेश्वरमा भएको बस आगजनी घटनाको छानबिन गर्न गठित समितिले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।
७ सदस्यीय गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई शुक्रबार साँझ प्रतिवेदन बुझाएको हो।
असोज ५ गते ट्राफिक प्रहरीसँग सामान्य विवादपछि बा ५ ख ४२७४ नम्बरको गाडीमा अर्जुन दोङ तामाङले आगजनी गरेका थिए। शरीरको ९० प्रतिशत भाग जलेका मकवानपुर स्थायी घर भएका तामाङको उपचारका क्रममा मृत्यु भएको थियो।
जिल्ला प्रशासन कार्यालय,काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको संयोजकत्वमा बनेको छानबिन समितिले असोज १३ गते प्रतिवेदन तयार पारेको थियो।
१३ पेजको यस प्रतिवेदनमा घटनाको वास्तविक सत्यतथ्य, विश्लेषण, चालकको परिवार, ट्राफिक प्रहरीको भनाइ समेटिएको छ। नेपाल सरकारले आगजनीमा परेको बसको बीमाका लागि समन्वय गर्ने कुरा प्रतिवेदनमा उल्लेख छ।




प्रतिक्रिया