काठमाडौं । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीभित्र आन्तरिक मतभेद र विवाद भए पनि कांग्रेस विभाजनको अवस्थामा नरहेको बताएका छन् । शनिबार महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै उनले पार्टीभित्र देखिएका असमझदारी समाधान गर्नु आफूहरूको दायित्व भएको बताए ।
महामन्त्रीमा निर्वाचित भए आफ्नो पहिलो प्राथमिकता नै पार्टीभित्रको विवाद अन्त्य गरी संगठनलाई एकताबद्ध बनाउने हुने शर्माले बताए । उनले आफू ‘प्रो–कोइराला’ रहेको बताउँदै बीपी कोइरालाको अनुयायी र गिरिजाप्रसाद कोइरालाको कार्यकर्ता भएको उल्लेख गरे ।
मोरङवासी भएकाले पनि कोइराला परिवारको राजनीतिक विचारसँग आफ्नो निकटता स्वाभाविक रहेको उनको भनाइ छ । कोइराला परिवारले कांग्रेस स्थापनामा महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै शर्माले पार्टीको कमजोर बन्दै गएको छवि र पुरानो राजनीतिक विरासत जोगाउन आफ्नो उम्मेदवारी रहेको बताए ।
‘म बीपी कोइरालाको अनुयायी र गिरिजाबाबुको कार्यकर्ता हुँ । मोरङमा बस्ने भएकाले म प्रो–कोइराला हुँ भन्न मलाई कुनै संकोच छैन,’ उनले भने, ‘व्यक्ति होइन, बीपी, गिरिजाबाबु, किसुनजी र गणेशमानजीको विचार बोकेर हिँड्ने कार्यकर्ता नै कांग्रेसको शक्ति हुन् ।’
कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले आन्तरिक विवाद र मतभेद हुनु अस्वाभाविक नभएको शर्माले बताए । यस्ता विवादलाई व्यवस्थापन गर्दै पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नेतृत्वको भएको उनको भनाइ छ ।
सभापति पदमा कसलाई समर्थन गर्ने भन्ने विषयमा भने उनले अहिल्यै निर्णय नभएको स्पष्ट पारे । सभापतिका आकांक्षीहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेपछि मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने उनले बताए ।
शर्माले आगामी नेतृत्वमा जेनजी आन्दोलनको भावना, युवाको विचार र लोकतन्त्रको संरक्षणलाई अघि बढाउन सक्ने उम्मेदवारलाई आफ्नो समर्थन रहने बताए ।




प्रतिक्रिया