ओखलढुङ्गा । नेकपा (एमाले) लिखु गाउँपालिका कमिटीले आफ्नै कार्यालय भवन निर्माण गर्ने भएको छ । लिखु गाउँपालिका-४ मा सम्पन्न पालिका कमिटीको १५ औं बैठकले जग्गा व्यवस्थापन र आर्थिक संकलनका लागि समिति गठन गर्दै आफ्नै भवन बनाउने निर्णय गरेको हो ।
लामो समयदेखिको आफ्नै भवन बनाउने योजनालाई मूर्तरूप दिन बैठकले कोशी प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु बुढाथोकीको संयोजकत्वमा घरजग्गा व्यवस्थापन मूल समिति गठन गरेको छ, जसको सदस्य सचिवमा पालिका कमिटी अध्यक्ष विशाल कुमार पौडेल छन् । यस्तै, स्रोत जुटाउन कोशी प्रदेश सम्पर्क कमिटीका सदस्य टिका बिष्ट ‘मोहन’ को संयोजकत्वमा र कोशी प्रदेश सल्लाहकार कमिटी सदस्य एवं युवा नेता मिलन विष्ट सहसंयोजक रहने गरी आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।
पार्टीका पूर्व स्थायी कमिटी सदस्य तथा स्थानीय विकास विभाग प्रमुख राजेन्द्र गौतमको प्रमुख आतिथ्यता एवं पालिका कमिटी अध्यक्ष पौडेलको अध्यक्षतामा बसेको बैठकमा जिल्ला इन्चार्ज तथा संविधानसभा सदस्य यज्ञराज सुनुवारले सबैको साथ र सहयोगले भवन निर्माण छिट्टै पूरा भई आफ्नै भवनमा सर्ने विश्वास व्यक्त गरे । सुनुवारले जिल्लाका सबै वडा तथा तहसम्म ‘जनतासँग सत्य संवाद’ कार्यक्रम सञ्चालन गर्ने जानकारी समेत दिए ।
बैठककै अवसरमा लिखु – काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष रवि श्रेष्ठले मञ्चद्वारा प्रकाशित ‘लिखु संगालो’ पुस्तक वडा कमिटीका अध्यक्षहरू मार्फत वडा कमिटीहरूलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य नानीबाबु बुढाथोकी, प्रदेश कमिटी सदस्य केशवहरि ढुंगेल लगायत पालिका कमिटीका पदाधिकारी, वडा कमिटीका अध्यक्षहरू तथा नेता-कार्यकर्ताको उपस्थिति थियो ।




प्रतिक्रिया