सत्ताको अङ्कगणितमा अल्झिँदा जनविद्रोह चुलियो : पूर्वप्रधानमन्त्री भट्टराई


काठमाडौँ। खुलामञ्चमा आयोजित नेपाली काँग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक नेतृत्वलाई आत्मसमीक्षाको कठघरामा उभ्याए। मुलुकमा आर्थिक समृद्धि हासिल हुन नसक्नु र नागरिक तथा युवा पुस्तामा चरम असन्तुष्टि फैलिनुको पछाडि राजनीतिक दलहरूकै असफलता जिम्मेवार रहेको उनको ठम्याइ थियो।

जनतामा चुलिँदै गएको आक्रोश र असन्तोषलाई प्रायः राजनीतिक वृत्तमा विदेशीको षड्यन्त्र भनेर पन्छाउने प्रवृत्ति छ। डा. भट्टराईले यस प्रवृत्तिमाथि प्रहार गर्दै भने, ‘नागरिकको असन्तोषलाई विदेशी षड्यन्त्रको पगरी गुथाएर पन्छाउन मिल्दैन। राजनीतिक नेतृत्वले आफ्नै असफलता र कमजोरीको जिम्मेवारी लिनुपर्छ।’

दलहरू देशको आर्थिक रूपान्तरणभन्दा सरकार बनाउने र ढाल्ने दुष्चक्रका कारक बनेकाले नागरिकमा व्यापक निराशा छाएको उनले स्पष्ट पारे। अरूलाई दोष थोपर्ने पुरानै शैली त्यागेर अब दलहरूले गम्भीर आत्मसमीक्षा गर्नुपर्ने समय आइसकेको उनको भनाइ थियो।
आफ्नै जीवनकालमा विश्वका अन्य मुलुकहरूले गरेको लोभलाग्दो आर्थिक प्रगतिको उदाहरण दिँदै डा. भट्टराईले दक्षिण कोरिया, सिङ्गापुर, मलेसिया र चीन कसरी समृद्ध मुलुकको श्रेणीमा पुगे भन्ने स्मरण गराए।

‘हामी सरकार बनाउने र गिराउने खेलमै अल्झियौँ, आर्थिक समृद्धिको दिशामा अपेक्षित रूपमा अघि बढ्न सकेनौँ,’ उनले भने, ‘त्यसैले जनतामा असन्तुष्टि बढ्यो र नयाँ पुस्ताले विद्रोहको आवाज उठायो। यसका लागि अरूलाई मात्र दोष दिने होइन, हामीले आफ्नै कमजोरी स्वीकार गर्नुपर्छ।’

मुलुकलाई दल-दलबाट निकाल्न डा. भट्टराईले एक राष्ट्रिय सहमतिको खाका प्रस्ताव गरे। आगामी १० देखि २० वर्षभित्र नेपाललाई समृद्ध बनाउने स्पष्ट राष्ट्रिय योजना बनाएर सबै दलहरूबीच सहमति जुटाउनुपर्ने र कसले त्यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने भन्नेमा मात्र प्रतिस्पर्धा हुनुपर्ने उनको तर्क थियो।

पुराना पुस्ताका नेताहरूले अब नयाँ पुस्तालाई विश्वास गर्नुपर्ने समय आइसकेको उल्लेख गर्दै डा. भट्टराईले नयाँ पुस्ताले देखाएको हिम्मत र अग्रसरताको प्रशंसा गरे।

आयोजक दल नेपाली काँग्रेसतर्फ लक्षित गर्दै उनले भने, ‘कांग्रेसभित्र पनि अब सार्थक पुस्तान्तरण र वैचारिक स्पष्टता अत्यावश्यक भइसकेको छ।’