गुल्जार हुने कागबेनीधाम गुमनाम


मुस्ताङ, १९ असोज। चाडपर्वमा गुल्जार हुने मुस्ताङको कागबेनी तीर्थस्थल अहिले गुमनाम बनेको छ। राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग अवरुद्ध हुँदा मुस्ताङको प्रसिद्ध धार्मिक तीर्थस्थल कागबेनीधाम सुनसान बनेको हो।

चैते दशैं र बडादशैंअघि पर्ने सोह्रश्राद्धको तिथिमा दैनिक सयौं धार्मिक तीर्थालुको घुइँचो लाग्ने मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ स्थित कागबेनीधाम असोज ८ गतेदेखि पूर्ण सुनसान छ।

दिवङ्गत पितृको सम्झनामा कागबेनीधामस्थित कालीगण्डकी नदीको तटमा पिण्डदान, तर्पण र श्राद्ध गर्नाले धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास छ। तेत्तीस कोटी देवताको वासस्थान मानिने धार्मिक तपोभूमि कागबेनीमा पूजापाठ गरी श्राद्ध गर्नाले दिवङ्गत पितृको उद्धार हुने हिन्दू धर्मशास्त्रमा उल्लेख छ।

मुस्ताङको कागबेनीधाममा बर्सेनि हजारौं धार्मिक तीर्थालु पितृको नाममा श्राद्ध गर्न आउने गर्छन्। यसरी आएका तीर्थालु कागबेनीमा श्राद्ध गरी मुक्तिनाथको दर्शन गरेर फर्किने गर्छन्।

अखण्ड ज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टद्वारा सञ्चालित पितृतीर्थस्थल कागबेनी धर्मशालाका पुजारी गौतम कोइरालाका अनुसार भदौ १० गतेको रसुवाको बाढी तथा असोज ८ गतेदेखिको भारी वर्षाका कारण आएको बाढीपहिरोले बेनी–जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा श्राद्ध गर्न आउने तीर्थालुको संख्या शून्य जस्तै भएको छ।

यस वर्षको सोह्रश्राद्धको आठौं दिन बितिसक्दा पनि एक प्रतिशत धार्मिक तीर्थालु कागबेनीमा आउन नसकेको कोइरालाले बताए। विगतमा दैनिक करिब ५०० धार्मिक तीर्थालु दिवङ्गत पितृको नाममा श्राद्ध गर्न कागबेनीधाम आउने गर्थे। दशैंको सोह्रश्राद्धको अन्तिम दिन औंसी तिथिमा भने कागबेनीधाममा तीर्थालुको भीड थेगिनसक्नु हुन्थ्यो।

औंसीको अघिल्लो र पछिल्लो दिन कागबेनीधाममा श्राद्ध गर्न आउने तीर्थालुको उपस्थितिले मुस्ताङको घाँसादेखि मुक्तिनाथसम्मका होटल भरिभराउ हुन्थे। यस पटक भारी वर्षासँगै आएको बाढीपहिरो र नदी कटानका कारण बेनी–जोमसोम सडक अवरुद्ध हुँदा कागबेनीधाममा भक्तजन तथा तीर्थालुको उपस्थितिमा पूर्णविराम लागेको छ।

कागबेनीधाममा सडक अवरुद्ध भएका कारण जिल्ला बाहिरबाट श्राद्ध गर्न आएका एक दर्जनभन्दा बढी पुजारी समेत श्राद्ध गर्न नपाई आफ्नो गन्तव्यतर्फ फर्किसकेका छन्। कागबेनी धर्मशालामा कार्यरत आठ जना पुजारीमध्ये तीन जना पनि घर फर्किएको पुजारी गौतम कोइरालाले बताए।

उनका अनुसार यसपालिको सोह्रश्राद्धको आठौं दिनसम्म दैनिक दुई–तीन जनाले मात्रै पितृको नाममा श्राद्ध गरिरहेका छन्। यसपालि सडक अवरुद्ध भएकाले आठौं दिनसम्म जम्मा डेढ दर्जन जतिले मात्रै कागबेनीमा श्राद्ध गरेका छन्। त्यसमध्ये कतिपय जिल्लाभित्र रहेका निजामती कर्मचारी रहेको कोइरालाले जानकारी दिए।

उनका अनुसार विगतका वर्षमा कागबेनीधाममा श्राद्ध गराउन सयभन्दा बढी पुजारी आउने गर्थे। तर, यस वर्ष रसुवाको बाढी र भारी वर्षाका कारण सडक अवरुद्ध हुँदा पुजारी तथा पण्डितको उपस्थिति पनि न्यून भएको छ।

धार्मिक आस्थाको केन्द्र मुस्ताङको कागबेनीधाम र मुक्तिनाथ मन्दिर सडक अवरुद्ध हुँदा पर्यटकविहीन अवस्थामा छन्। गण्डकी प्रदेशकै आर्थिक समृद्धिको मेरुदण्ड मानिने कागबेनीधाम र मुक्तिनाथ मन्दिरसम्म पुग्ने सडक अवरुद्ध हुँदा मुस्ताङसहित गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ।

सोह्रश्राद्ध सुरु भएदेखि दशैंको नवरात्रसम्म ठूलो संख्यामा धार्मिक तीर्थालु मुस्ताङ आउने गरे पनि सडक अवरुद्ध भएपछि यस क्षेत्रको पर्यटन व्यवसाय प्रभावित बनेको छ। बेनी–जोमसोम सडकमार्ग एक साताभन्दा बढी समयदेखि अवरुद्ध हुँदा कागबेनीधाममा बसेका पुजारी तथा पण्डित समेत कामविहीन बनेका छन्।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ कागबेनीस्थित होटल याक डोनाल्डकी सञ्चालिका तथा पर्यटन व्यवसायी लक्ष्मी गुरुङले रसुवाको भोटेकोशी बाढी र भारी वर्षाले बेनी–जोमसोम सडकमा पुर्‍याएको क्षतिका कारण मुस्ताङको पर्यटन क्षेत्रले ठूलो नोक्सानी व्यहोर्नुपरेको बताइन्।

“यो समय पर्यटकीय अनुकूल याम हो। यही बेला बेनी–जोमसोम सडक अवरुद्ध हुनु हामीहरूका लागि दुर्भाग्य हो,” पर्यटन व्यवसायी गुरुङले भनिन्, “मुस्ताङको सिजनल व्यापारले बाह्रै महिना धान्नुपर्ने बाध्यता छ। मुस्ताङ आउने योजना बनाएका पर्यटकहरूले समेत धमाधम होटल बुकिङ रद्द गरिरहेका छन्।”

पर्यटन व्यवसायी गुरुङका अनुसार असोज ८ देखि ११ गतेसम्मको भारी वर्षाले मुस्ताङको पर्यटन व्यवसायसँगै कृषक, यातायात व्यवसायी, उद्योगी तथा अन्य व्यवसायी प्रभावित भएका छन्। मुस्ताङमा अलपत्र परेका पर्यटक समेत विद्युत्, इन्टरनेट र सडक अवरुद्धका कारण समस्यामा परेका छन्।

“स्याउ किसान स्याउ बिक्री गर्न नपाएर रोइरहेका छन्। अलपत्र परेका पर्यटक बैंकिङ सेवा बन्द भएर होटलमै बस्न बाध्य छन्। खाएर पैसा तिर्न समेत समस्या भएको छ,” उनले भनिन्, “इन्धनको समस्या भइरहेको छ। विकास निर्माणका काम पनि सबै ठप्प छन्।”

पर्यटन व्यवसायी गुरुङले सोह्रश्राद्धको समयमा झन्डै ५० हजारभन्दा बढी पर्यटक कागबेनीमा आउने गरे पनि अहिले त्यो अवस्था नरहेको बताइन्। बेनी–जोमसोम सडक अवरुद्ध हुँदा सबै क्षेत्रमा उत्तिकै असर परेको उनको भनाइ छ।

मुस्ताङको कागबेनीस्थित कालीगण्डकी नदी र मुक्तिनाथबाट बग्ने गण्डकी नदीको सङ्गमस्थलमा दिवङ्गत पितृको सम्झनामा धार्मिक अनुष्ठानसहित श्राद्ध गर्नाले पितृ खुसी भई पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।

काग भुसुन्डे ऋषिले तिलिचो तालमा तपस्या गरी कागबेनीमा स्नान गरेको धार्मिक विश्वासका कारण कागबेनीधामको कालीगण्डकी नदीको तटलाई पुण्यस्थलका रूपमा लिने गरिन्छ। बर्सेनि सोह्रश्राद्धको तिथिमा कागबेनीधामको कालीगण्डकी नदीको तटमा हजारौं तीर्थालुले दिवङ्गत पितृको नाममा श्राद्ध गर्ने गर्छन्।