काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहको खुलेर प्रशंसा गर्दै समृद्ध नेपालको यात्रामा भारत सधैँ सँगै रहेको स्पष्ट पारेका छन् ।
शाहको नेतृत्व क्षमता, दूरदर्शिता र द्विपक्षीय सम्बन्धप्रतिको स्पष्ट दृष्टिकोणको मोदीले उच्च प्रशंसा गरेका हुन् । प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले नेपालमा देखिएको राजनीतिक परिवर्तन र नयाँ पुस्ताको आकांक्षाप्रति भारतको सकारात्मक दृष्टिकोण प्रस्तुत गरेका हुन् ।
पहिलो विदेश भ्रमणका रूपमा भारतलाई रोजेकोमा खुसी व्यक्त गर्दै मोदीले प्रधानमन्त्री शाहसँगको केही घण्टाको औपचारिक संवादमै नेपालको भविष्य र भारत–नेपाल सम्बन्धप्रतिको उनको क्लियर भिजन र प्रतिबद्धता महसुस गरेको बताए । विश्वकै कान्छा प्रधानमन्त्रीका रूपमा संयुक्त राष्ट्रसंघको महासभामा शाहले गरेको सम्बोधनको स्मरण गर्दै मोदीले त्यही बेला नै बालेनको दूरदर्शिता स्पष्ट भइसकेको टिप्पणी गरे ।
नेपालको पछिल्लो राजनीतिक बदलावलाई संकेत गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपाली जनताले दिएको ऐतिहासिक जनादेशले त्यहाँको नयाँ पुस्ताको आशा र भरोसालाई प्रतिबिम्बित गरेको उल्लेख गरे । परम्परागत राजनीतिक शक्तिहरूको विकल्पमा उदाएको नयाँ नेतृत्वलाई भारतले विश्वास र महत्वका साथ हेरेको सन्देश उनको भनाइमा झल्किन्थ्यो ।
द्विपक्षीय सहकार्यका विषयमा बोल्दै मोदीले सशक्त र समृद्ध नेपालको विकास यात्रामा भारत सधैँ साझेदार रहँदै आएको बताए । दुई देशबीचको सम्बन्धलाई समयानुकूल नयाँ उचाइमा पुर्याउन भ्रमणका क्रममा महत्वपूर्ण निर्णयहरू लिइएको जानकारी दिँदै उनले आपसी सहकार्य थप सुदृढ हुने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया