काठमाडौँ। नेपाली कांग्रेसलाई अझ ऊर्जाशील, विचारनिष्ठ र जनमुखी बनाउने सङ्कल्पका साथ युवा नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता कर्णले आफ्नो उम्मेदवारी कुनै व्यक्ति वा गुटविरुद्ध नभई पार्टीको साङ्गठनिक सुदृढीकरण, कार्यशैलीमा रूपान्तरण र नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउनका लागि भएको स्पष्ट पारेका हुन्।
साक्षात्कार कार्यक्रममा नेता कर्णले नेपाली कांग्रेसको इतिहास र विचार समृद्ध भए पनि त्यसलाई आजको नयाँ पुस्तासँग जीवन्त रूपमा जोड्नुपर्ने आवश्यकता औँल्याए। पार्टीभित्र सकारात्मक वैचारिक बहसको सुरुआत गर्दै उनले साङ्गठनिक ऊर्जा थप्न र साधारण कार्यकर्तालाई निर्णय प्रक्रियाको वास्तविक साझेदार बनाउन आफू महामन्त्रीका लागि मैदानमा उत्रिएको बताए।
‘नेपाली कांग्रेस कमजोर भएको होइन, हाम्रो साङ्गठनिक ऊर्जा र कार्यशैलीमा नयाँ गति दिनुपर्ने भएको हो,’ कर्णले भने, ‘पार्टीको भविष्य नेताको कुर्सीले होइन, संगठनको ऊर्जा र कार्यकर्ता तथा जनताको अगाध विश्वासले तय गर्छ।’
आफ्ना धारणा राख्दै नेता कर्णले पार्टीको सदस्यतालाई संख्यात्मक मात्र नबनाई अधिकार र जिम्मेवारीसँग जोड्नुपर्नेमा जोड दिए। उनले पद प्राप्तिका लागि मात्र नभई जिम्मेवारी बहन गर्दै पार्टीलाई जनताको सुख-दुःखको सच्चा सारथि बनाउने प्रतिबद्धता व्यक्त गरे।
‘हामीलाई विचारमा स्पष्ट, संगठनमा सक्रिय, नेतृत्वमा लोकतान्त्रिक, आचरणमा अनुशासित र जनतासँग जोडिएको विश्वसनीय कांग्रेस चाहिएको छ,’ उनले थपे, ‘यसका लागि नेतृत्व परिवर्तनसँगै काम गर्ने शैलीमा व्यापक र सकारात्मक सुधार ल्याउनु पर्छ।’
महामन्त्री बनेर पार्टीलाई पुनः जनताको विश्वासको केन्द्रमा स्थापित गर्ने र नयाँ पुस्ताका आकांक्षालाई संगठनभित्र उचित स्थान दिने उनको भनाइ छ ।




प्रतिक्रिया