कांग्रेस १५औँ महाधिवेशन: आदिवासी जनजातिबाट केन्द्रीय सदस्यमा मनहरि श्रेष्ठको उम्मेदवारी घोषणा


काठमाडौँ । नेपाली कांग्रेसका नेता मनहरि श्रेष्ठले जारी १५औँ महाधिवेशनमा आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै धनुषाका नेता श्रेष्ठले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

धनुषाको सबैलाका बासिन्दा श्रेष्ठले कांग्रेस कमजोर नभई पार्टीभित्रको संगठनात्मक ऊर्जा सुस्त भएको टिप्पणी गरे। “कांग्रेससँग विचार र लोकतान्त्रिक इतिहासको बलियो धरातल छ तर त्यो विचारलाई आजको नयाँ पुस्तासँग जोड्ने प्रयास कमजोर भएको हो,” उनले भने, “महाधिवेशनमा ‘जेनजी’ (Gen-Z) देखि वृद्धवृद्धासम्मका प्रतिनिधि सहभागी छन्। यो जनसांख्यिक विविधतालाई समेट्दै पार्टीको विचारलाई युवा पुस्ताको रोजाइ बनाउनु मेरो मुख्य प्राथमिकता हुनेछ।”

श्रेष्ठले मधेशका आधारभूत मुद्दा र समावेशिताको सवाललाई केन्द्रीय नीति-निर्माण तहमा सशक्तरूपमा उठाउने प्रतिबद्धता जनाए। धनुषाको माटोमै हुर्किएर राजनीति गरेकाले मधेशका नागरिकका आवश्यकता र अपेक्षाबारे आफू सूक्ष्मरूपमा जानकार रहेको उल्लेख गर्दै उनले भने, “केन्द्रीय सदस्य जितेर मधेशका समस्याको समाधानका लागि नेतृत्वदायी भूमिका खेल्नेछु।”

पार्टी संगठनलाई सुदृढ बनाएर आगामी निर्वाचनमा विजय हासिल गर्ने रणनीतिक खाका प्रस्तुत गर्दै उनले भने, “ओठे भाषणमा होइन, परिणाममुखी काममा विश्वास गर्छु। तल्लो तहदेखि नै सांगठनिक संरचना र भ्रातृ संस्थालाई चलायमान बनाउन सके आगामी प्रदेश र स्थानीय तहको निर्वाचनमा कांग्रेसले स्पष्ट बहुमत ल्याउन सक्छ।”

केन्द्रीय नेतृत्वमा आफ्नो उपस्थितिले पार्टीभित्र जातीय तथा क्षेत्रीय सन्तुलनलाई अझ मजबुत बनाउने श्रेष्ठको दाबी छ।