काठमाडौं असोज १९ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघ (NAFEA) ले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (FWCMS) मार्फत सीमित २५ नेपाली म्यानपावर कम्पनीलाई मात्रै ‘‘Registered Recruitment Agencies’’ का रूपमा सूचीकृत गरी कामदार पठाउने व्यवस्था गर्न खोजिएको विषयमा गम्भीर आपत्ति जनाएको छ ।
संघले मलेसिया रोजगारी बन्द गर्नुपर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पार्दै मलेसिया रोजगारी खुल्नुपर्ने तर त्यसका नाममा सिन्डिकेट स्वीकार गर्न नसकिने धारणा सार्वजनिक गरेको छ ।
संघका अनुसार नेपालमा करिब १,२०० वैधानिक वैदेशिक रोजगार व्यवसायी हुँदाहुँदै सीमित संस्थालाई मात्रै मलेसिया पठाउने अधिकार दिइएमा प्रतिस्पर्धा घट्ने, श्रमिकको लागत बढ्ने, पारदर्शिता कमजोर हुने र अनौपचारिक रकम असुली बढ्न सक्ने जोखिम रहन्छ ।
संघले भनेको छ, ‘मलेसिया खुल्नुपर्छ, तर नेपालको कानुन, राज्यको अधिकार र श्रमिकको हितभन्दा माथि कुनै निजी वा सीमित प्रणालीलाई राख्न सकिँदैन ।’
संघले FWCMS को विषयलाई मलेसियामा मात्रै सीमित गरेर हेर्न नहुने जनाएको छ। विगतमा विभिन्न श्रम गन्तव्यमा देखिएका G2G बायोमेट्रिक, साउदी/कतारका विभिन्न प्रणाली तथा निजीकरण र एकाधिकारका अभ्यासबाट समेत राज्यले पाठ सिक्नुपर्ने संघको भनाइ छ ।




प्रतिक्रिया