काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा बाला अधिकारीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्। सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा उनले खुला महिला वा पेशागत समूहबाट उम्मेदवारी दिने औपचारिक रूपमा घोषणा गरेकी हुन् ।
नेपाल पत्रकार महासंघकी पूर्व कार्यवाहक अध्यक्ष अधिकारीले तीन दशक लामो पत्रकारिता यात्राबाट विदा लिएर सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन्।
२०४७ सालदेखि निरन्तर कांग्रेसमा क्रियाशील रहँदै आएकी उनी १२औँ, १३औँ र १४औँ महाधिवेशनमा लगातार महाधिवेशन प्रतिनिधि भएकी थिइन्।
उनी यसअघि कांग्रेसको विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन् । युवा पुस्तालाई पार्टीसँग जोड्ने, नयाँ पुस्ताको सहभागिता बढाउने र संगठनलाई थप प्रभावकारी बनाउने विषयलाई उनले आफ्नो प्राथमिकतामा राखेकी छन्।
तीन दशकको पत्रकारिता अनुभवलाई अब सक्रिय राजनीतिमार्फत पार्टी संगठन र जनतासँगको सम्बन्ध विस्तारमा प्रयोग गर्ने अधिकारीको भनाइ छ।




प्रतिक्रिया