काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री जीवन परियारले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
सोमबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा परियारले औपचारिक रूपमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
परियारले २०४६ सालको जनआन्दोलनताका विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेको बताए। उनी कांग्रेसको १२औँ महाधिवेशन २०६७ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए भने १३औँ महाधिवेशन २०७२ मा पुनः केन्द्रीय सदस्यमा निर्वाचित भए । १४औँ महाधिवेशन २०७८ बाट उनी सहमहामन्त्रीको जिम्मेवारीमा पुगेका थिए ।
आफूले लामो समयदेखि पार्टी, संगठन र लोकतान्त्रिक आन्दोलनमा काम गर्दै आएको उल्लेख गर्दै परियारले आगामी दिनमा युवालाई कांग्रेससँग जोड्ने र संगठनलाई थप मजबुत बनाउने आफ्नो प्राथमिकता रहेको बताए।
१५औँ महाधिवेशनले कांग्रेसमा युवाहरूलाई विशेष स्थान दिएको उल्लेख गर्दै उनले पार्टीलाई थप समावेशी बनाउने विषयमा जोड दिए। सबै जाति, भाषा, धर्म र लिङ्गका नागरिकको सहभागिता सुनिश्चित गर्दै कांग्रेसलाई अझ समावेशी पार्टीका रूपमा अघि बढाउन आफूले भूमिका खेल्ने उनको भनाइ छ।
परियारले बदलिँदो समयअनुसार कांग्रेसलाई जनतासँग अझ नजिक बनाउन डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बताए। त्यसका लागि ‘डिजिटल कांग्रेस’को अवधारणालाई अघि बढाउँदै पार्टीको संगठन र गतिविधिलाई प्रविधिमैत्री बनाउने उनले बताए।
उनका मुख्य एजेन्डा यसप्रकार छन् :
युवालाई पार्टीमा जोड्ने : युवाको सक्रिय सहभागिता बढाउँदै कांग्रेसमा नयाँ पुस्तालाई अवसर दिने।
संगठन निर्माण र सुदृढीकरण : पार्टीको संगठनलाई वडा तहदेखि नै थप मजबुत र प्रभावकारी बनाउने।
समावेशी कांग्रेस निर्माण : सबै जाति, भाषा, धर्म र लिङ्गको समान सहभागिता सुनिश्चित गर्दै कांग्रेसलाई थप समावेशी बनाउने।
डिजिटल कांग्रेसको अवधारणा : प्रविधिको प्रयोग बढाउँदै पार्टीलाई डिजिटल रूपमा सक्षम बनाउने र डिजिटल माध्यमबाट जनतासँगको सम्बन्ध विस्तार गर्ने।
जनतासँग नजिकको पार्टी : पार्टीका गतिविधि र संगठनलाई जनतासँग प्रत्यक्ष जोड्दै कांग्रेसलाई जनतामाझ थप पहुँचयोग्य बनाउने।
नयाँ पुस्ता र पार्टीबीच सम्बन्ध विस्तार : युवाको रुचि, प्रविधि र बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको कार्यशैलीलाई अघि बढाउने।




प्रतिक्रिया