काठमाडौँ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियालाई निश्चित वैदेशिक रोजगार व्यवसायी संस्थामा सीमित गरी एकाधिकार कायम गर्न खोजिएको भन्दै त्यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएको छ।
सङ्घले साेमबार पत्रकार सम्मेलन गरी मलेसियाको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्ल्युसिएमएस) अन्तर्गत नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्र सूचीकृत गरिएको विषयमा प्रश्न उठाएको हो।
मलेसियाको एफडब्ल्युसिएमएसमा नेपालका २५ वटा वैदेशिक रोजगार व्यवसायी संस्थालाई मुख्य र २५० वटा संस्थालाई सहायक संस्थाका रूपमा सूचीकृत गरिएको विषय सार्वजनिक भएपछि छनोट प्रक्रिया, मापदण्ड र पारदर्शितामाथि प्रश्न उठेको छ । यस विषयमा वैदेशिक रोजगार विभागले समेत सूचीकृत २५० संस्थासँग उनीहरू छनोट भएको आधार र प्रक्रियाबारे स्पष्टीकरण मागेको छ ।
सङ्घका अध्यक्ष डिकबहादुर खत्रीले निश्चित व्यवसायी संस्थालाई मात्र सूचीकृत गरेर एकाधिकार कायम गर्न नहुने जानकारी दिए। “निश्चित व्यवसायी संस्थालाई सूचीकृत गरेर एकाधिकार गर्न पाइँदैन । सूचीकृत संस्थाहरू नै कति पारदर्शी छन् भन्ने प्रश्न छ,” उनले भने ।
उनले श्रमिकको हकहित संरक्षण गर्दै वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराइएको बताए।अध्यक्ष खत्रीले “आज मलेसियाबाट सुरु भएको एकाधिकारको नजिर भोलि अन्य श्रम गन्तव्यमा पनि दोहोरिन सक्छ,” भने।




प्रतिक्रिया