चोलेन्द्रलाई भेटेको आरोपमै सशस्त्र प्रहरीका एआइजी भए निलम्बित


काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) बंशीराज दाहाल निलम्बित भएका छन्। सुरक्षा सूचना चुहावटको आरोपमा उनलाई निलम्बन गरिएको हाे ।

​गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार सोमबारको मन्त्रीस्तरीय निर्णयानुसार दाहाललाई निलम्बन गरिएको हो। उनीमाथि लागेको अभियोगबारे जाँचबुझ गर्न र ३ दिनभित्र प्रतिवेदन पेश गर्न जाँचबुझ अधिकृत समेत तोकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

​मन्त्रालयले आफ्नो मातहतका कर्मचारीबाट हुने पदीय आचरणविपरीतका कार्य, संवेदनशील सूचना चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी र विश्लेषण भइरहेको जनाएको छ। कानुन विपरीतका गतिविधिमा संलग्न जोकोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने र मन्त्रालय विधिको शासन एवं सार्वजनिक शान्ति सुरक्षाको संरक्षणप्रति सदैव प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ।

दाहालले पक्राउ गरेको अवस्थामा पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई भेटेको आरोपमा कारबाही गर्न लागिएको हो।