काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय संरचनालाई थप समावेशी बनाउने प्रावधानसहित संशोधित विधान पारित गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार खुलामञ्चमा बसेको बन्दसत्रले महामन्त्री प्रदीप पौडेलद्वारा प्रस्तुत संशोधित विधान पारित गरेको हो।
पारित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ। नयाँ संरचनामा पदाधिकारीसँगै विभिन्न जातीय, क्षेत्रीय, लैंगिक, पेशागत तथा उमेर समूहको प्रतिनिधित्व सुनिश्चित गरिएको छ।
नयाँ व्यवस्थाअनुसार कांग्रेसको सभापति र वरिष्ठ उपसभापति एक–एक जना तथा उपसभापति चार जना रहनेछन्। चार उपसभापतिमध्ये कम्तीमा एक जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै तीन महामन्त्रीमध्ये एक जना महिला अनिवार्य गरिएको छ।
सहमहामन्त्रीको संख्या भने १५ पुर्याइएको छ। कोषाध्यक्ष केन्द्रीय कार्यसमितिका सदस्यमध्येबाट मनोनीत हुनेछन्।
खुलादेखि समावेशी समूहसम्म प्रतिनिधित्व
केन्द्रीय सदस्यतर्फ खुला समूहबाट ४५ जना तथा महिला समूहबाट १५ जना निर्वाचित हुनेछन्। प्रत्येक प्रदेशबाट एक महिलासहित चार जनाका दरले सदस्य निर्वाचित हुनेछन् भने काठमाडौं उपत्यकाबाट एक महिलासहित दुई जना निर्वाचित हुने व्यवस्था छ।
समावेशीतर्फ दलित समुदायबाट पाँच महिलासहित १४, आदिवासी जनजातिबाट आठ महिलासहित २०, खसआर्यबाट आठ महिलासहित १८ तथा मधेसी समुदायबाट पाँच महिलासहित १३ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
त्यस्तै थारु समुदायबाट दुई महिलासहित छ, श्रमिकतर्फ एक महिलासहित तीन तथा पेशागत तथा विज्ञ समूहबाट दुई महिलासहित सात जना केन्द्रीय सदस्य रहनेछन्।
जनसम्पर्क समितिबाट दुई महिलासहित सात जना तथा पिछडिएको क्षेत्रबाट तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था गरिएको छ।
३५ वर्षमुनिका युवाका लागि २१ सिट
नयाँ विधानले युवा प्रतिनिधित्वलाई पनि प्राथमिकतामा राखेको छ। ३५ वर्षमुनिका महाधिवेशन प्रतिनिधिमध्येबाट सातै प्रदेश समेटिने गरी २१ जना युवा केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।
त्यसैगरी अपाङ्गता भएका व्यक्तिबाट एक तथा प्रजातन्त्र सेनानी, शहीद परिवार र द्वन्द्व प्रभावित परिवारतर्फबाट तीन जना केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ।
यसका अतिरिक्त केन्द्रीय कार्यसमितिले ६६ जना सदस्य मनोनीत गर्न सक्ने प्रावधान राखिएको छ।
पदाधिकारीको प्रतिवेदन मंगलबार
संशोधित विधान सोमबार नै पारित गरिए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने मंगलबारको बन्दसत्रमा पेस गरी पारित गरिने कांग्रेसले जनाएको छ।
मंगलबार बिहान १० बजेदेखि केन्द्रीय पदाधिकारी तथा सदस्यका लागि उम्मेदवारी मनोनयनको कार्यक्रम तय भएकाले विधान सोमबार नै पारित गरिएको कांग्रेसले जनाएको छ।
नयाँ विधानसँगै कांग्रेसको आगामी नेतृत्व चयनमा महिला, युवा तथा विभिन्न समुदायको प्रतिनिधित्वका लागि छुट्टाछुट्टै संरचना तय भएको छ।




प्रतिक्रिया