युवा नेता राजिव चौधरीको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा


काठमाडौं । नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा युवा नेता राजीव चौधरीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

बारा क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत निर्वाचित चौधरीले पार्टीको केन्द्रीय नेतृत्वमा युवाको अर्थपूर्ण र समावेशी सहभागिता सुनिश्चित गर्न उम्मेदवारी दिन लागेको बताएका छन् ।

नेपाल थारू संघ काठमाडौंका अध्यक्षसमेत रहेका चौधरी लामो समयदेखि कांग्रेसको विद्यार्थी तथा युवा संगठनमा सक्रिय छन् ।

पार्टी संगठनसँगै समाजसेवा, उद्यम र स्थानीय विकास निर्माणका गतिविधिमा पनि सक्रिय रहेका चौधरीले आफूले हासिल गरेको संगठनात्मक अनुभवलाई पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने बताएका छन् ।

चौधरीले कांग्रेसको केन्द्रीय नेतृत्वमा युवाको सहभागिता अहिलेको आवश्यकता भएको बताए । उनले कांग्रेसलाई समयअनुकूल, आधुनिक र गतिशील बनाउन नयाँ पुस्ताको प्रवेश अपरिहार्य रहेको बताए ।

उनका अनुसार एउटै पुस्ता लामो समयसम्म नेतृत्वमा रहिरहनेभन्दा क्षमता र योगदानका आधारमा नेतृत्व हस्तान्तरण हुँदै जाने संस्कारले पार्टीलाई थप ऊर्जाशील बनाउन सक्छ ।

थारू समुदायको प्रतिनिधित्वलाई पनि आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण पक्षका रूपमा उनले अघि सारेका छन् ।नेपाल विद्यार्थी संघ हुँदै नेपाल तरुण दलमा सक्रिय रहेका उनले शंकरदेव क्याम्पसमा नेविसंघ इकाइ सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

चौधरी राजनीतिसँगै उद्यम क्षेत्रमा पनि सक्रिय छन् । उनले लिंकन कलेजबाट एमबीएस गरेका छन् । उनी रमदुलारी कन्स्ट्रक्सनका निर्देशकसमेत हुन् ।