रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍याएको छ : राठौर


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कांग्रेसलाई राजनीतिक रूपमा कमजोर अवस्थामा पुर्‍याएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस सभापति पदमा उम्मेदवारी घोषणा गर्दै राठौरले रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍याएको बताएका हुन् ।

‘आज कांग्रेसका दुई–दुई वटा अधिवेशन हुँदैछन्। रास्वपाले कांग्रेसलाई भित्तामा पुर्‍याएको छ। कम्युनिस्टहरू मिलेर जाने परिस्थिति छ,’ उनले भने।

कांग्रेसभित्रको विवाद आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा समेत प्रभाव पार्न सक्ने उनको भनाइ छ। कांग्रेसको अधिवेशन नै दुईतर्फी भइरहेकाले त्यसको परिणाम केही महिनापछि देखिने उनले बताए।

‘कांग्रेसको अधिवेशन दुई वटा हुँदै गर्दा भोलि आउने स्थानीय र प्रदेश निर्वाचनमा के हुन्छ, छ महिनापछि हामी भोगिहाल्छौँ,’ राठौरले भने।

सभापति निर्वाचित भए कांग्रेसलाई एकताबद्ध बनाउने उनले दाबी गरे। पार्टीभित्रका नेता तथा कार्यकर्तालाई न्याय दिने र कांग्रेसलाई मर्यादित पार्टीका रूपमा पुनःस्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए।

‘म सभापति भएँ भने कांग्रेसलाई एक बनाउँछु,’ उनले भने, ‘बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहले बनाएको मर्यादित कांग्रेसको परम्परा पुनःस्थापित गर्न चाहन्छु।’

राठौरले रातारात देशमा परिवर्तन सम्भव नहुने भन्दै रास्वपा नेतृत्वलाई काम गर्ने समय दिनुपर्ने धारणा पनि राखे।

‘रातारात केही हुनेवाला छैन। पाँच वर्ष कुर्नुहोस्। नेपाली जनताले रास्वपालाई जिताएका छन्। म उहाँहरूको कामको सफलताको शुभकामना दिन चाहन्छु, विरोध गर्न चाहन्नँ,’ उनले भने।