काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले कांग्रेस एकढिक्का नभएसम्म आफूहरूले चाहेजस्तो कांग्रेस निर्माण गर्न नसकिने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा सभापति पदमा उम्मेदवारी घोषणा गर्दै राठौरले पार्टीभित्र नयाँ पुस्तासँगै पुराना पुस्तालाई समेत समेटेर अघि बढ्नुपर्नेमा जोड दिए।
उनले कांग्रेस सबै पुस्ता र समूह अटाउने साझा पार्टी बन्नुपर्ने बताए। बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिजस्ता नेताका परिवार तथा उनीहरूले निर्माण गरेको राजनीतिक विरासतलाई समेत कांग्रेसले समेट्नुपर्ने उनको भनाइ थियो।
‘बीपी कोइरालाको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, गणेशमान सिंहको छोरा नअट्ने कांग्रेस हुन सक्दैन, महेन्द्रनारायण निधिको छोरा नअट्ने कांग्रेस हुन सक्दैन,’ राठौरले भने।
नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भइसकेको उल्लेख गर्दै उनले पार्टीमा योगदान दिएका पुराना पुस्तादेखि वर्तमान पुस्तासम्म सबैलाई समेटेर अघि बढ्नुपर्ने बताए।
‘सबै अट्ने, अहिलेको जेनेरेसनदेखि पुराना, जो यो पार्टीमा लगानी गर्नुभएको छ, सबैलाई अटाउने र सबैलाई मिलाएर अघि बढ्ने अवस्था बनाउनुपर्छ,’ उनले भने।
राठौरले कांग्रेसका नेता तथा कार्यकर्ताले ‘यो मेरो कांग्रेस हो, मेरो पार्टी हो, हाम्रो पार्टी हो’ भन्ने अनुभूति गर्ने वातावरण बनाउन आफू निरन्तर लाग्ने प्रतिबद्धता जनाए।




प्रतिक्रिया