काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता प्रवल थापाले पार्टीको आगामी १५ औँ महाधिवेशनमा खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
विद्यार्थी राजनीतिबाट सांगठनिक यात्रा सुरु गरेका थापाले तरुण दल, जिल्ला कार्यसमिति, केन्द्रीय तरुण विभाग, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हालिसकेका छन्। लामो समयको सांगठनिक अनुभवपछि उनले यसपटक केन्द्रीय सदस्यमा दाबी प्रस्तुत गरेका हुन्।
उम्मेदवारी घोषणा गर्दै नेता थापाले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकको सल्लाह र सुझावका आधारमा आफूले यो निर्णय लिएको बताए। पार्टी संगठनलाई अझ सुदृढ र प्रभावकारी बनाउनुका साथै निरन्तर खट्ने निष्ठावान् कार्यकर्ताको सम्मान र हकहितका लागि दृढ भएर लाग्ने उनको भनाइ छ। आगामी महाधिवेशनमा प्रतिनिधिहरूले आफूलाई केन्द्रीय समितिमा रहेर काम गर्ने अवसर प्रदान गर्नेमा उनी विश्वस्त देखिन्छन्।
यसअघि पनि महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको भूमिका निर्वाह गरिसकेका थापा हालै सम्पन्न काठमाडौँ क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनबाट पुनः महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए। सो अधिवेशनमा खुलातर्फ १७१ मत प्राप्त गर्दै उनी सर्वाधिक मतका साथ विजयी भएका थिए।




प्रतिक्रिया