कांग्रेसको १५औँ महाधिवेशन: रूपान्तरणको एजेन्डासहित मधु आचार्यद्वारा उपसभापतिमा उम्मेदवारी घोषणा


काठमाडौँ । नेपाली कांग्रेसका नेता मधु आचार्यले पार्टीको आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पार्टीभित्र नीतिगत तथा साङ्गठनिक रूपान्तरणको एजेन्डालाई निरन्तर अघि बढाउँदै आएका आचार्यले औपचारिक रूपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।

विशेष महाधिवेशनको तयारीका क्रममा महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर संकलनदेखि लिएर समापनसम्म सक्रिय भूमिका निर्वाह गरेका आचार्यले सोही महाधिवेशनबाट तय भएका बाँकी जिम्मेवारी पूरा गर्न आफूले उपसभापति पदमा दाबी गरेको बताएका छन्। पार्टीलाई वैचारिक रूपमा स्पष्ट र साङ्गठनिक रूपमा सुदृढ बनाउन शीर्ष नेतृत्व तहमा सशक्त उपस्थिति आवश्यक रहेको उनको भनाइ छ।

नेपाली कांग्रेस काभ्रेका पूर्वसभापतिसमेत रहेका आचार्यले पार्टी शुद्धीकरण र गतिशील रूपान्तरणको एजेन्डा बोकेर यसअघि देशव्यापी ‘मेची-महाकाली अभियान’ समेत सञ्चालन गरेका थिए।

कांग्रेस पार्टीमा विचारनिष्ठ र निष्ठावान् नेताका रूपमा आचार्यलाई चिनिन्छ ।