नयाँ दिल्ली । भारतको दिल्लीस्थित जन्तर-मन्तरमा महिला प्रदर्शनकारीहरूप्रति प्रहरीले दुर्व्यवहार गरेको भन्दै भ्रामक भिडियो फैलाउने एक युट्युबरलाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। कृत्रिम बौद्धिकता (एआई) को प्रयोग गरी नक्कली भिडियो बनाएर प्रहरीको छवि धमिल्याउन खोजेको अभियोगमा २४ वर्षीय नदिम अहमद पक्राउ परेका हुन्।
हरियाणाको पलवल स्थायी घर भएका अहमदले आफूलाई ‘स्वतन्त्र पत्रकार’का रूपमा चिनाउँदै ‘न्यूज आइना’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए। कक्षा १० सम्म मात्र अध्ययन गरेका उनीमाथि एआई प्रविधिको दुरुपयोग गरी इन्स्टाग्राम र फेसबुकमा भ्रामक रिलहरू पोस्ट गरेर सर्वसाधारणलाई प्रहरीविरुद्ध भड्काएको आरोप छ।

(दिल्ली प्रहरीविरुद्ध घृणा फैलाउने प्रयास, १० कक्षा फेल ‘स्वतन्त्र पत्रकार’ पक्राउ – तस्बिर: नवभारत टाइम्स)
प्रहरीका अनुसार जन्तर-मन्तरमा भएको प्रदर्शनका क्रममा सुरक्षाकर्मीले महिला प्रदर्शनकारीहरूलाई आपत्तिजनक तरिकाले छोएको दाबी गर्दै अहमदले सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेका थिए। तर अनुसन्धानका क्रममा ती दृश्यहरू वास्तविक नभई एआईको मद्दतले तयार पारिएका फर्जी सामग्री भएको खुलासा भएको छ।
घटनाको गम्भीरतालाई ध्यानमा राख्दै दिल्ली प्रहरीले अहमदको सामाजिक सञ्जाल सञ्जालका गतिविधिमाथि सूक्ष्म निगरानी बढाएको छ। साथै, प्रहरीविरुद्ध यस्तो षड्यन्त्र रचाउन कुनै गिरोह संलग्न छ कि छैन र उनलाई कहाँबाट वित्तीय सहयोग भइरहेको थियो भन्ने विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया