झापा प्रशासनका सात सेवा ‘फेसलेस’, कार्यालय धाउन नपर्ने


भद्रपुर (झापा), २० असोज। जिल्ला प्रशासन कार्यालय झापाले सेवाग्राहीको भौतिक उपस्थिति आवश्यक नपर्ने गरी सात प्रकारका सेवा ‘फेसलेस’ प्रणालीबाट उपलब्ध गराउन सुरु गरेको छ ।

कार्यालयले आजदेखि परम्परागत रूपमा सञ्चालन गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रम, राजनीतिक तथा सामाजिक कार्यक्रम, जातीय प्रमाणित सिफारिस, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोडसम्बन्धी सेवा भौतिक उपस्थितिबिनै उपलब्ध गराउन थालेको हो ।

राष्ट्रिय परिचयपत्र र राहदानीको अवस्था तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी सेवा पनि भौतिक उपस्थितिबिनै उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए । 

कार्यालयका अनुसार सेवाग्राहीले सम्बन्धित सेवाका लागि तोकिएको अनलाइन पोर्टल, डेडिकेटेड इमेल, ह्वाट्सएप तथा टेलिफोनलगायतका माध्यमबाट सेवा लिन सक्नेछन् । त्यसका लागि कार्यालयले सेवाको एकीकृत व्यवस्थापन गर्न छुट्टै ‘हेल्प डेस्क’ समेत सञ्चालनमा ल्याएको छ ।

धार्मिक, सांस्कृतिक पर्व, जात्रा, उत्सव तथा मेला सञ्चालनको अनुमति र शान्ति सुरक्षासम्बन्धी सेवा तथा राजनीतिक तथा सामाजिक कार्यक्रमसम्बन्धी जानकारी, अनुमति र शान्ति सुरक्षाका लागि कार्यालयको वेबसाइटमा राखिएको अनलाइन लिंक प्रयोग गर्न सकिनेछ ।

त्यस्तै, नागरिकताको अभिलेख विद्युतीय प्रणालीमा अपलोड, राष्ट्रिय परिचयपत्रको अवस्था र राहदानीको अवस्था बुझ्न डेडिकेटेड ह्वाट्सएप नम्बर तथा प्रहरी सर्जमिन र चालचलनसम्बन्धी जानकारीका लागि डेडिकेटेड इमेल प्रयोग गर्न सकिनेछ ।

सेवाग्राहीले निवेदन दिँदा आफ्नो इमेल वा ह्वाट्सएप नम्बर उल्लेख गर्नुपर्नेछ । माग गरिएको सेवासँग सम्बन्धित जानकारी तथा आवश्यक जवाफ सोही इमेल वा ह्वाट्सएपमार्फत उपलब्ध गराइने कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलले प्रविधिको प्रयोगमार्फत सेवाग्राही र सेवा प्रदायकबीचको दूरी घटाउँदै सार्वजनिक सेवा प्रवाहलाई सहज, छरितो र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले ‘फेसलेस’ सेवा सुरु गरिएको बताए।

उनले भने, “सरकारले सुशासन अभिवृद्धिका लागि डिजिटलमैत्री शासन प्रणालीलाई प्राथमिकता दिएको छ । त्यसैअनुसार सेवाग्राहीलाई सामान्य कामका लागि पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था अन्त्य गरी भर्चुअल माध्यमबाट सेवा र सेवाग्राहीबीच प्रत्यक्ष कनेक्सन गराउने प्रयास गरेका छौँ ।”

उनका अनुसार फेसलेस सेवाले सेवाग्राहीको समय र खर्च बचत मात्र नभई कार्यालयमा हुने अनावश्यक भिडभाड घटाउन सहयोग पुग्नेछ । प्रमुख जिल्ला अधिकारी पोखरेलले भने, “सेवा लिन कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता कम हुँदा सेवाग्राहीको समय बचत हुन्छ र कार्यालयको सेवा प्रवाह पनि व्यवस्थित हुन्छ ।”

सेवा प्रभावकारीरूपमा सञ्चालन गर्न सम्बन्धित फाँटका कर्मचारीलाई अभिमुखीकरणसमेत गरिसकिएको छ । नयाँ प्रणालीलाई दिगो र प्रभावकारी बनाउन आवश्यकताअनुसार सेवाको स्तरोन्नति गर्दै लैजाने कार्यालयको भनाइ छ ।

कार्यालयले प्रविधिमा आधारित सेवाको विस्तारसँगै सेवाग्राहीलाई सहज पहुँच, पारदर्शिता र छिटो सेवा उपलब्ध गराउने जनाएको छ ।