काठमाडौँ, २० असोज । काठमाडौँ महानगरपालिकाले पठन संस्कृतिलाई थप विकास गर्न ‘महानगर पुस्तकालय’ सञ्चालन गर्न लागेको छ ।
महानगरले धर्मपथमा रहेको येँ दे सांस्कृतिक छेँमा पुस्तकालय सञ्चालन गर्न लागेको हो ।
महानगरपालिकाको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘पठन संस्कार’ बढाउन सुविधासम्पन्न पुस्तकालय बनाउने योजना निकट भविष्यमै अघि बढाउन लागेको जानकारी दिइन् ।
“नगरको आफ्नै सङ्ग्रहालय र पुस्तकालय हुनुपर्छ । यसले नगरको छवि उच्च बनाउँछ”, कार्यवाहक प्रमुख सुनिता डङ्गोलले भनिन्, “हामीले अत्याधुनिक, सुविधासम्पन्न र पहुँचयुक्त पुस्तकालय सञ्चालन गर्न चाहेका छौँ ।”
पठन संस्कृतिलाई सहरी जीवनशैलीको अभिन्न अङ्ग बनाउन केन्द्रीय पुस्तकालय, वडा र समुदायस्तरका पुस्तकालय निर्माण तथा सञ्चालन गर्न लागेको जनाउँदै उनले महानगरले बुक एटीएमसम्मको योजनामा अघि बढाउने बताइन् ।
महानगरपालिका शिक्षा विभागका प्रमुख नमराज ढकालले पुस्तकालय सञ्चालन गर्न हाल पूर्वाधार र व्यवस्थापकीय काम गरिरहेको जानकारी दिए ।
प्रमुख ढकालले भने, “पुस्तकालयलाई पुस्तक राख्ने र पढ्ने स्थानमा मात्र सीमित नराखी ज्ञान, नवप्रवर्तन, सामुदायिक सिकाइस्थल, सांस्कृतिक सम्पदा अभिलेखालय, डिजिटल सिकाइ, अनुसन्धान र सूचना केन्द्रका रूपमा विकास गर्ने अवधारणा कार्यान्वयन गर्न लागिएको हो ।”
महानगरपालिकाले विद्यालयमा आधारित सामुदायिक पुस्तकालयलाई संस्थागत पुस्तकालयसँग जोडेर एकीकृत सञ्जालका रूपमा सञ्चालन गर्ने योजना समेत अघि सारेको छ ।
नागरिकले एउटै महानगरीय पुस्तकालय कार्डमार्फत पुस्तक लिन सक्ने, अध्ययन कक्ष, इन्टरनेट तथा विभिन्न सामुदायिक कार्यक्रमको सुविधा लिन सक्ने अवधारणा अघि सारिएको छ ।
पुस्तकालयमा बालबालिका, विद्यार्थी, शिक्षक, ज्येष्ठ नागरिकलगायत विभिन्न समूहलाई लक्षित सदस्यता प्रदान गरिनेछ ।
पुस्तकालयमा जर्नल, पत्रपत्रिका, अडियो बुक र भिडियोसहितको डिजिटल सुविधा उपलब्ध गराइनेछ । भौतिक रूपमा पढ्न आउनेलाई नेवारी फल्चा शैलीको बस्ने ठाउँमा पलेटी कसेर पढ्ने वातावरण मिलाइनेछ । डिजिटल पुस्तकालयमा चौबीसै घण्टा पहुँचको व्यवस्था गर्ने अवधारणा छ ।
पुस्तकालयलाई समुदायसँग जोड्न मासिक पुस्तक संवाद तथा लेखकसँग भेटघाट, त्रैमासिक पठन महोत्सव र अनुसन्धानसम्बन्धी कार्यक्रम तथा वार्षिक रूपमा ‘काठमाडौँ बुक वीक’, पठन म्याराथन र पुरस्कारलगायतका कार्यक्रम सञ्चालनको योजना छ । बालबालिका, युवा र ज्येष्ठ नागरिकलाई लक्षित छुट्टाछुट्टै पठन तथा ज्ञानमूलक कार्यक्रम सञ्चालन हुनेछन् ।
त्यस्तै, पुस्तकालयलाई काठमाडौँको इतिहास, संस्कृति र सामुदायिक स्मृतिको संरक्षण गर्ने केन्द्रका रूपमा विकास गरिने महानगरपालिकाले जनाएको छ ।




प्रतिक्रिया