नोबेल साहित्यमा महिला लेखकको चर्चा


स्टकहोम, २० असोज । यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र क्यारिबियन महिला लेखकको नाम चर्चामा आएको छ । पश्चिमी पुरुष लेखकको वर्चस्व रहेको भन्दै आलोचना हुँदै आएको पुरस्कारमा यसपटक विविधता देखिन सक्ने साहित्यिक समीक्षकहरूले अनुमान गरेका छन् ।

अठार सदस्यीय स्विडिस एकेडेमीले बिहीबार दिउँसो विजेताको नाम घोषणा गर्नेछ । पुरस्कारका लागि सार्वजनिक छोटोसूची नरहने र नामाङ्कनसम्बन्धी अभिलेख ५० वर्षसम्म गोप्य राखिने भएकाले सम्भावित विजेताबारे अनुमान तीव्र बनेको छ ।

एन्टिगुआमा जन्मिएर अमेरिकामा बस्दै आएकी ७७ वर्षीया जमैका किनकेड र चीनकी लेखिका कान सु चर्चामा हुनुहुन्छ । किनकेडका कृतिमा क्यारिबियन संस्कृति, परिवार, पहिचान र उपनिवेशवादका विषय समेटिएका छन् भने कान सुको प्रयोगात्मक लेखनलाई फ्रान्ज काफ्कासँग तुलना गरिन्छ ।

हालसम्म १२२ साहित्यकारले नोबेल साहित्य पुरस्कार प्राप्त गरेकामा १८ जना मात्र महिला छन् । कुनै पनि अफ्रिकी भाषामा लेख्ने लेखकले पुरस्कार पाएका छैनन् । सन् २०१८ को विवादपछि एकेडेमीमा व्यापक परिवर्तन भएको र त्यसयता महिला लेखकको प्रतिनिधित्व बढेको छ ।

यसपटक ल्याटिन अमेरिकी लेखक पनि चर्चामा छन् । स्विडेनकी साहित्यिक आलोचक लिना कालमेटेगले नयाँ पुस्ताका महिला लेखकको प्रभाव बढिरहेको बताएका छन् । उनले अर्जेन्टिनाकी ४८ वर्षीया सामन्ता स्वेब्लिन सम्भावित नाम हुन सक्ने उल्लेख गरे ।

सम्भावित दावेदारमा अस्ट्रेलियाका जेराल्ड मुर्नाने, एलेक्सिस राइट, अमेरिकी लेखक थोमस पिन्चन, मेक्सिकन लेखिका क्रिस्टिना रिभेरा गार्जा, जर्मनीकी जेनी एर्पेनबेक र भियतनामकी डुओङ थु हुङ पनि छन् । गत वर्ष हङ्गेरीका लास्लो क्रास्नहोरकाईले यो पुरस्कार प्राप्त गरेका थिए ।

यस वर्षका विजेताले १२ लाख अमेरिकी डलर, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।