काठमाडौँ । विश्व लगानीकर्ता सप्ताह, २०२६ को अवसर पारेर ललितपुरको सानेपास्थित राष्ट्रिय खुला कलेजमा वित्तीय साक्षरता तथा पुँजीबजार सचेतना कार्यक्रम सम्पन्न भएको छ। साउथ एसियन बुल्स प्रा.लि.को आयोजनामा भएको ‘नेपालमा पुँजीबजारसम्बन्धी लगानीकर्ता मार्गदर्शन’ विषयक उक्त कार्यक्रममा युवा विद्यार्थीलाई शेयर बजारको व्यावहारिक ज्ञान र जिम्मेवार लगानीको महत्त्वबारे जानकारी गराइएको थियो।
उक्त साक्षरता अभियानमा कलेजका बीबीए, बीपीएच र बीएचसीएम अध्ययनरत ४० भन्दा बढी विद्यार्थी सहभागी थिए ।
कार्यक्रममा बेटा एनालिटिक्स प्रा.लि.का कार्यकारी निर्देशक एवं पुँजीबजार अभ्यासकर्ता सञ्जीव घिमिरेले नेपालको पुँजीबजारको वर्तमान अवस्था, लगानीका आधारभूत सिद्धान्त, जोखिम व्यवस्थापन र त्यसबाट प्राप्त हुने प्रतिफलबारे विस्तृत सहजीकरण गरेका थिए। लगानी गर्दा अध्ययन र विश्लेषणको भूमिका कति हुन्छ भन्ने विषयमा जोड दिँदै घिमिरेले जिम्मेवार लगानीकर्ता बन्न अपनाउनुपर्ने सतर्कताबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए।

त्यसैगरी, साउथ एसियन बुल्स प्रा. लि. की अपरेसन प्रमुख मनीषा सुवालले ब्रोकर कम्पनीहरूको भूमिका, पुँजीबजारको समग्र प्रणाली र यस क्षेत्रमा ब्रोकिङ उद्योगको योगदानबारे प्रकाश पारेकी थिइन्।
राष्ट्रिय खुला कलेजका प्राचार्य प्रा. अनिल खड्का तथा संस्थापक एवं सल्लाहकार प्र.डा. शीतलकुमार कार्कीले विद्यार्थीहरूमा सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक वित्तीय साक्षरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने उल्लेख गरेका थिए।
पुँजीबजारप्रति युवा पुस्ताको चासो बढाउन र उनीहरूलाई सचेत लगानीकर्ता बनाउन आयोजक संस्थाले खेलेको भूमिकाको कलेज प्रशासनका तर्फबाट प्रशंसा गरिएको थियो।




प्रतिक्रिया