काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन दलीय राजनीतिक जोडघटाउमा मात्र सीमित छैन, यसपालि पार्टीको नीति निर्माण र नेतृत्व तहमा मुलुकका स्थापित उद्योगी, व्यवसायी, बैंकर तथा निर्माण व्यवसायीहरूको बाक्लो उपस्थितिले नयाँ बहस सिर्जना गरेको छ। आर्थिक क्षेत्रमा दशकौँको अनुभव सँगालेका प्रभावशाली व्यक्तित्वहरू उपसभापतिदेखि केन्द्रीय सदस्यसम्मका पदमा प्रतिस्पर्धामा उत्रिएपछि राजनीतिक वृत्तमा आर्थिक एजेन्डाले प्राथमिकता पाउन थालेको छ।
पूर्वाधार विकास, ऐन–कानुन परिमार्जन, उद्यमशीलता प्रवर्धन र नीति निर्माणमा व्यावहारिक अनुभवको प्रयोगलाई मुख्य चुनावी मुद्दा बनाएर व्यवसायीहरू चुनावी मैदानमा होमिएका हुन्।
पार्टीको केन्द्रीय पदाधिकारी तहमै व्यावसायिक पृष्ठभूमि भएका नेताहरू मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्। चौधरी ग्रुपका अध्यक्ष एवं पूर्वसांसद विनोद चौधरीले समावेशी क्लस्टरतर्फबाट उपसभापति पदमा उमेदवारी दिएका छन्। उद्योग, बैंकर, होटेल र ऊर्जा क्षेत्रमा साम्राज्य फैलाएका चौधरी आफ्नो व्यावसायिक र अन्तर्राष्ट्रिय अनुभवलाई पार्टीको आर्थिक नीतिमा ढाल्ने दाउमा छन्।
त्यस्तै, स्वास्थ्य तथा शिक्षा क्षेत्रका उद्यमी एवं केएमसी अस्पतालका सञ्चालक डा. सुनिल शर्माले महामन्त्री पदमा दाबी प्रस्तुत गरेका छन्। पूर्वसांसदसमेत रहेका शर्माको उपस्थिति क्षेत्रगत प्रतिनिधित्वका हिसाबले अर्थपूर्ण मानिएको छ।
सहमहामन्त्री पदमा भने हिम्दुङ एन्ड थोकर कन्स्ट्रक्सनसँग आबद्ध निर्माण व्यवसायी, पूर्वमन्त्री एवं वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा प्रतिस्पर्धामा छन्।
पदाधिकारीमा मात्र होइन, केन्द्रीय सदस्यतर्फ पनि विभिन्न पेसागत तथा व्यावसायिक क्षेत्रका अगुवाहरूको आकर्षण उत्तिकै छ। खुला तथा विभिन्न क्लस्टरबाट चुनावी मैदानमा पनि व्यवसायीहरू उत्रिएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष रवि सिंहले खुलातर्फबाट केन्द्रीय सदस्यमा उमेदवारी दिएका छन्। पूर्वाधार विकास, ऐन–कानुन संशोधन र संस्थागत सुधार उनको मुख्य एजेन्डा छ।
२५ वर्षदेखि बैंकिङ, सहकारी र कृषि क्षेत्रमा सक्रिय युवा उद्यमी भरतराज ढकालले खुलातर्फबाट उम्मेदवारी दर्ता गराएका छन्। मुक्तिनाथ कृषि कम्पनीमार्फत कृषि क्षेत्रमा मूल्य–शृंखला सिर्जनामा संलग्न ढकाल जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम र २०८२ को निर्वाचनपछि थप सक्रिय भूमिकामा देखिएका हुन्।
कञ्चनजंघा टी इस्टेटकी निर्देशक एवं सामाजिक अभियन्ता शान्ता बास्कोटा कोइरालाले खुला महिलातर्फबाट उम्मेदवारी दिएकी छन्। फिदिममा अर्ग्यानिक चिया, जडीबुटी र मसला प्रशोधन तथा बजारीकरण गर्दै आएकी उनी उद्यमशीलता र महिला सशक्तीकरणको मुद्दा लिएर अघि बढेकी छन्।
रसुवा कन्स्ट्रक्सनसँग आबद्ध इन्जिनियर मोहन आचार्य सिभिल इन्जिनियर एवं निर्माण व्यवसायी हुन्। उनी २०७४, २०७९ र २०८२ को निर्वाचनमा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भइसकेका नेता हुन्।
केसी ग्रुप अफ कम्पनीज्का निर्देशक किरण केसी बैंकिङ, बिमा, जलविद्युत् र निर्माण क्षेत्रमा सक्रिय युवा उद्यमी केन्द्रीय सदस्यका रूपमा मैदानमा छन्।
३५ वर्षमुनिको युवा समूहबाट पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं अंशुभरा ग्रुपका निर्देशक सौगात थापा केन्द्रीय सदस्यको दौडमा छन्।
चितवनको टुलिप होटेलका सञ्चालक रामेश्वर शाहले पनि केन्द्रीय सदस्यमा दाबी पेस गरेका छन्।
यसबाहेक पर्यटन व्यवसायी छत्रबहादुर गिरी, वासु ढुंगाना, खुमा अर्याल, तिलक रानाभाट, उत्तमलाल चुकेलगायतका उद्यमीहरू पनि केन्द्रीय सदस्य पदको प्रतिस्पर्धामा छन्।
राजनीतिक नेतृत्वमा उद्योगी व्यवसायीको यो उपस्थितिले नेपाली कांग्रेसलाई आर्थिक समृद्धिको स्पष्ट मार्गचित्र कोर्न मद्दत पुर्याउने विश्लेषण गरिएको छ ।




प्रतिक्रिया