अमेरिकाको पेन्सिल्भेनियामा दादुराका सङ्क्रमित एक हजार नाघे, पाँच जनाको मृत्यु


लस एन्जलस, २१ असोज । अमेरिकाको पेन्सिल्भेनिया राज्यमा सन् २०२६ मा दादुराका पुष्टि भएका संक्रमितको संख्या एक हजार नाघेको छ । राज्यका स्वास्थ्य अधिकारीहरूका अनुसार प्रकोपका कारण हालसम्म ५ जनाको मृत्यु भएको छ भने १९८ जना अस्पताल भर्ना भएका छन् । यो पछिल्लो तीन दशकभन्दा बढी समययताकै राज्यमा देखिएको सबैभन्दा ठूलो दादुरा प्रकोप हो ।

पेन्सिल्भेनिया स्वास्थ्य विभागका अनुसार सोमबारसम्म राज्यका ३९ काउन्टीमा एक हजार ४ जनामा दादुरा संक्रमण पुष्टि भएको छ । अक्टोबर २ पछि मात्रै थप २७ नयाँ संक्रमित भेटिएका छन्। यो प्रकोप अप्रिलको अन्त्यतिर सुरु भएको थियो ।

पुष्टि भएका संक्रमितमध्ये चार जना मात्रै दादुरा, गलगाँड र रुबेला ९एमएमआर० विरुद्धको खोप लगाएका व्यक्ति रहेका छन् । यो कुल संक्रमितको १ प्रतिशतभन्दा कम हो ।

प्रकोप बढेसँगै पेन्सिल्भेनियामा एमएमआर खोप लगाउनेको संख्या पनि उल्लेख्य रूपमा बढेको छ । राज्यमा सामान्यतया एक महिनामा करिब २५ हजार डोज एमएमआर खोप दिइने भए पनि अगस्टमा ४९ हजारभन्दा बढी र सेप्टेम्बरमा ५३ हजारभन्दा बढी डोज दिइएको स्वास्थ्य विभागले जनाएको छ । पेन्सिल्भेनिया स्वास्थ्य विभागका अनुसार दादुराबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय पूर्ण खोप हो । एमएमआर खोपको दुई डोजले जीवनभर करिब ९७ प्रतिशत सुरक्षा प्रदान गर्ने विभागले जनाएको छ ।

न्यूयोर्कमा पनि दादुरा संक्रमण बढ्दै

बढ्दो प्रकोपलाई ध्यानमा राख्दै न्यूयोर्क राज्यकी गभर्नर क्याथी होकुलले सोमबार राज्यमा विपद् आपत्काल घोषणा गरेका छन् ।

राज्य सरकारका अनुसार अक्टोबर ३ सम्म न्यूयोर्कमा यस वर्ष १०८ दादुरा संक्रमित पुष्टि भएका छन् । तीमध्ये ९२ वटा संक्रमण जुलाई १५ पछि १८ वटा ग्रामीण काउन्टीमा देखिएका हुन् ।

ती क्षेत्रमा खोपको पहुँच वा खोप लगाउने दर कम रहेका समुदायहरू छन् । न्यूयोर्क सरकारले यस वर्ष राज्यमा देखिएको दादुरा संक्रमण सामान्य अवस्थाको तुलनामा उल्लेख्य रूपमा बढेको र विशेषगरी जुलाई १५ पछि वृद्धि तीव्र भएको जनाएको छ । यसलाई महत्वपूर्ण सार्वजनिक स्वास्थ्य चुनौतीका रूपमा लिइएको छ ।

अमेरिकामा सन् १९९१ यताकै खराब अवस्था

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार अक्टोबर १ सम्म अमेरिकाभरि तीन हजार हजार ८८७ जना दादुराका संक्रमित पुष्टि भएका छन् । सीडीसीका अनुसार सन् २०२६ मा देखिएको यो संक्रमण सन् १९९१ यताकै उच्च हो । दादुरा अत्यन्तै संक्रामक रोग भएकाले स्वास्थ्य अधिकारीहरूले पूर्ण खोपलाई संक्रमणबाट बच्ने प्रमुख उपायका रूपमा जोड दिएका छन् । रासस