‘गैरदलीय स्थानीय तहबाटै समृद्धिको युग सुरु गर्नुपर्छ’- अध्यक्ष धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले तीव्र गतिमा विकास गर्न सके नेपाल १० वर्षभित्रै छिमेकी मुलुक भारत र चीनको स्तरमा पुग्ने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित ‘स्थानीय तहमा गैरदलीय निर्वाचन आवश्यकता किन र स्वतन्त्र नागरिक अभियानको भूमिका के रहन्छ’ विषयक विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले देशको आजको प्रमुख आवश्यकता परिवर्तन, विकास, सुशासन र भ्रष्टाचारको अन्त्य रहेको बताए।

आर्थिक समृद्धिले नै विश्वको ध्यान तान्ने उल्लेख गर्दै धमलाले भने, ‘जुन देशमा अर्थतन्त्र सबल हुन्छ, त्यो देशमा विश्वका मान्छे विकास हेर्न आउँछन्। भारतमा तीव्र गतिमा विकास भयो। तीव्र गतिमा विकास भए नेपालमा १० वर्षमा भारत र चीनमा जस्तै विकास हुन्छ।’

गत वर्ष आफ्नो नेतृत्वमा चैत १३ गतेबाट सुरु भएको स्वतन्त्र नागरिक अभियानले पार्टीभन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्छ भन्ने मान्यता अघि सारेको धमलाले स्पष्ट पारे। अभियानलाई छोटो समयमै जनजिब्रोमा पुर्‍याउन सञ्चारकर्मीहरूको ठूलो योगदान रहेको भन्दै उनले पत्रकारहरुलाई धन्यवादसमेत व्यक्त गरे।

अध्यक्ष धमलाले अहिलेसम्म स्थानीय सरकारहरूले जनताको चाहनाअनुसार विकास गर्न नसकेको दाबी गर्दै अब साझा व्यक्ति ल्याएर स्थानीय तहबाटै समृद्धिको युग सुरु गर्नुपर्नेमा जोड दिए। सबल, सक्षम, भ्रष्टाचारमुक्त समाज र गाउँ–गाउँबाट कृषि क्रान्ति सुरु गर्नुपर्नेमा उनले जोड दिए। यसका लागि स्थानीय तहलाई गैरदलीय बनाउनैपर्ने धमलाको भनाइ छ ।
यसका साथै विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने र वंशजको नागरिकताको निरन्तरता हुनुपर्ने विषयलाई अभियानले मुख्य एजेन्डा बनाएको धमलाले जानकारी दिए।

अभियानको आगामी कार्यक्रमबारे जानकारी दिँदै अध्यक्ष धमलाले मंसिर १३ गते महाराजगञ्जस्थित हिमालयन दरबार पार्टी प्यालेसमा बुद्धिजीवीहरूसँग अन्तरक्रिया गर्न लागिएको बताए। त्यसपछि राष्ट्रिय पार्टीका शीर्ष नेताहरू, क्रमशः संसद्मा नरहेका दल तथा सरोकारवालाहरूसँग साक्षात्कार गर्दै सातै प्रदेशमा पुगेर यस विषयमा जनताको राय संकलन गरिने उनले उल्लेख गरे।