कांग्रेस महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका डा‍. सुनिल शर्मा काे हुन् ?


काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. सुनिलकुमार शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर शर्माले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

शर्मा कांग्रेस नेता साथै स्वास्थ्य व्यवसायीका रूपमासमेत परिचित छन्। उनले चिकित्साशास्त्रमा एमबीबीएस गरेका छन्। उनको जन्म वि.सं. २०३४ पुग २२ गते (जनवरी ६, १९७८) झापाको मधुमल्ला (दुम्से) मा भएको हो। उनका बुवा लेखनाथ (लोकनाथ) न्यौपाने र आमा होमादेवी न्यौपाने हुन्। उनको स्थायी बसोबास मोरङको बेलबारीमा रहेको छ।

२०५४ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय

शर्माले २०५४ सालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन्। कांग्रेसको १३औँ महाधिवेशनदेखि उनी महासमिति सदस्यका रूपमा निर्वाचित भएका थिए ।

मोरङ–३ बाट तीन पटक चुनावी प्रतिस्पर्धा

शर्माले २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका तर्फबाट मोरङ–३ मा उम्मेदवारी दिएका थिए। त्यस निर्वाचनमा उनी एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी यही क्षेत्रबाट निर्वाचित हुँदै संघीय संसद्मा पुगे। निर्वाचनमा उनले ४८ हजार ६३१ मत प्राप्त गरेका थिए।

तर २०८२ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी मोरङ–३ बाट पराजित भए। उक्त निर्वाचनमा शर्माले २४ हजार ३५४ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश कार्की ३६ हजार ९२४ मतसहित निर्वाचित भएका थिए।

महामन्त्रीमा किन उम्मेदवारी?

शर्माले बदलिँदो राजनीतिक परिस्थितिअनुसार कांग्रेसलाई जनतासँग प्रत्यक्ष रूपमा जोड्न महामन्त्रीमा उम्मेदवारी दिएको बताएका छन्।

उनले कांग्रेसलाई दूरदराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो उद्देश्य रहेको बताएका छन्। स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा समेत काम गर्दै आएका शर्माले जनतासँग प्रत्यक्ष जोडिने कांग्रेस निर्माण गर्ने आफ्नो अभियान रहेको बताउँदै आएका छन्।

लोकतन्त्र पुनःस्थापनाका लागि विगतमा नेपाल, भारत र अमेरिकासम्म पुगेर विभिन्न तहमा राजनीतिक गतिविधि तथा ‘लबिङ’ गरेको अनुभवसमेत उनले सुनाउँदै आएका छन्।

महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै शर्माले ‘कांग्रेसलाई जनतासँग जोड्ने, कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने’ अभियानमा आफू अघि बढ्ने बताए ।

शर्माको स्वास्थ्य सेवा र सामाजिक क्षेत्रमा गरेको योगदानले पार्टीभित्र मात्रै नभएर देशैभरका जनताले स्वच्छ छवि भएको समाजसेवी व्यक्तिका रूपमा चिनिन्छन् । विराटनगरको नोबेल मेडिकल कलेज तथा काठमाडौं मेडिकल कलेजमा शर्माले आर्थिक रूपमा कमजोर तथा उपचारबाट वञ्चित नागरिकलाई सहुलियत र निःशुल्क उपचार गर्दै आएका छन्।

कांग्रेस महामन्त्रीमा उनीसँगै प्रदीप पौडेल, गुरुराज घिमिरे,उदयशमशेर राणा,अमरसिंह पुन,नैनसिंह महर, शंकर तिवारी र डा. सन्तोष उपाध्याय प्रतिस्पर्धामा छन् ।