काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा महामन्त्री पदकी उम्मेदवार नेतृ डिला संग्रौलाले पार्टीको सुदृढीकरण, आन्तरिक सुशासन र युवा–महिला सशक्तीकरणका लागि आफू मैदानमा उत्रिएको बताएकी छन् ।
रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ संग्रौलाले लामो सांगठनिक अनुभव, प्राज्ञिक पृष्ठभूमि र स्पष्ट दृष्टिकोणसहित आफूले महामन्त्रीमा दाबी पेश गरेको स्पष्ट पारिन् ।
दाङबाट विद्यार्थी राजनीति सुरु गरी विवाहपश्चात् मोरङलाई राजनीतिक कर्मथलो बनाएकी संग्रौला लामो समय प्राध्यापन पेशामा समेत संलग्न रहेकी अनुभवी बौद्धिक नेतृ हुन् । नेपाल महिला संघको अध्यक्ष भएर कुशल नेतृत्व प्रदान गरिसकेकी उनले महिलामाथि हुने विभेद र हिंसाको अन्त्य गर्दै महिलालाई निर्णायक नेतृत्व तहमा पुर्याउन आफ्नो निरन्तर योगदान रहने प्रतिबद्धताव्यक्त गरिन् ।
‘मेरो मुख्य एजेन्डा समयसापेक्ष शिक्षा नीति निर्माण गर्दै युवाहरूलाई कांग्रेसको विचार र संगठनमा आकर्षित गर्नु हो,’ नेतृ संग्रौलाले भनिन्, ‘आजका युवाले सुशासन, चुस्त सेवा प्रवाह, रोजगारीका अवसर र नीति निर्माणको नेतृत्वमा पहुँच खोजेका छन् । युवालाई नेतृत्वदायी भूमिकामा पुर्याउनैपर्छ र त्यसको जग १५औँ महाधिवेशनले बसाल्नुपर्छ ।’
पार्टीभित्र ऊर्जा र रुपान्तरणको आवश्यकता औँल्याउँदै उनले देशमा भ्रष्टाचारमा शून्य सहनशीलता र कांग्रेस पार्टीमा पनि आन्तरिक सुशासन कायम गर्नु आफ्नो प्राथमिकता रहेको बताइन् । अहोरात्र खट्ने सच्चा कार्यकर्ताको सही मूल्यांकन भएमा मात्र संगठनको रथ सही दिशामा अघि बढ्ने उनको भनाइ थियो ।
गगन थापाको नेतृत्वमा चुनावपछि कांग्रेसले हिमाल, पहाड, तराई र मधेशलाई जोड्दै जनताको घरदैलोमा पुगेर नयाँ आशा जगाउने दाबी गर्दै उनले भनिन्, ‘महामन्त्रीमा विजयी भएपछि यी तमाम एजेन्डालाई पार्टीको नीति र व्यवहारमा पूर्णरूपमा मुखरित गर्नेछु ।’




प्रतिक्रिया