‘पुस्तान्तरण र सुशासन’को मुद्दा बोक्दै कांग्रेस केन्द्रीय सदस्यमा विनिता खड्काको उम्मेदवारी


काठमाडौँ । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा पार्टीभित्र वैचारिक रूपान्तरण, आन्तरिक सुशासन र पुस्तान्तरणको बहस तीव्र बनेको छ। साङ्गठनिक सुस्तता र परम्परागत कार्यशैलीप्रति कार्यकर्तामाझ असन्तुष्टि बढिरहेका बेला खुला महिलातर्फकी केन्द्रीय सदस्य उम्मेदवार बिनिता खड्काले ६ बुँदे रूपान्तरणकारी अवधारणा सार्वजनिक गरेकी छन्।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा ३२ वर्षीया खड्काले दोस्रोपटक केन्द्रीय कार्यसमितिमा उम्मेदवारी दिएको जानकारी दिँदै कांग्रेसको राजनीतिलाई परिणाममुखी बनाउन नयाँ कार्यशैली आवश्यक रहेको बताइन्। उनले पुस्तान्तरणलाई ‘अनुहारको हेरफेर’ मात्र नभई ‘राजनीति गर्ने शैलीको परिवर्तन’का रूपमा व्याख्या गरेकी छन्।

खुला महिलातर्फकी केन्द्रीय सदस्य उम्मेदवार खड्काले अघि सारेका ६ बुँदे एजेण्डा यस्ता छन्ः

गुटभन्दा माथि कांग्रेस:

पार्टीभित्र वर्षौँदेखि जरो गाडेको गुटबन्दीले साङ्गठनिक क्षयीकरण गराइरहेको भन्दै खड्काले व्यक्तिको प्रभुत्व जोगाउनुभन्दा पार्टीलाई बलियो र व्यवस्थित संस्था बनाउनुपर्नेमा जोड दिएकी छन् । आन्तरिक प्रतिस्पर्धालाई शत्रुतामा होइन, नीतिगत बहस र संस्थागत हितमा रूपान्तरण गर्नुपर्ने उनको धारणा छ।

भाषण होइन समाधान (नयाँ विचार, नयाँ कांग्रेस):

राजनीतिलाई आश्वासन र भाषणबाजीमा सीमित राख्ने परिपाटीलाई चुनौती दिँदै उनले भविष्यका जटिल सामाजिक-आर्थिक चुनौती सामना गर्न साहसिक सोच आवश्यक रहेको बताएकी छन्। कांग्रेसले समस्याको उठान मात्र नभई व्यावहारिक समाधान दिने नेतृत्व निर्माण गर्नुपर्ने उनको निष्कर्ष छ।

युवालाई पद होइन, निर्णायक भूमिका:

युवा पुस्तालाई चुनावी परिचालनको औजार बनाउने परिपाटीप्रति टिप्पणी गर्दै खड्काले युवा देशको भविष्य मात्र नभई ‘आजको निर्णायक शक्ति’ भएको दाबी गरेकी छन् । राजनीतिमा युवा सहभागिता औपचारिक पदमा मात्र सीमित नभई नीति निर्माण र कार्यान्वयनको निर्णायक तहमा हुनुपर्ने उनको तर्क छ।

पार्टीभित्रै सुशासन:

राज्य सञ्चालनमा सुशासनको माग गर्ने पार्टीले पहिले आफ्नै आन्तरिक संरचनामा सुशासन कायम गर्नुपर्ने खड्काले बताएकी छन्। पारदर्शी निर्णय प्रक्रिया, जवाफदेही नेतृत्व र आन्तरिक लोकतान्त्रिक संस्कृतिको जगमा मात्र सशक्त संगठन सम्भव हुने उनको विश्लेषण छ।

प्रतिभा पलायनको रोकथाम:

मुलुकले भोगिरहेको मेधावी युवा र प्रतिभा पलायन (ब्रेन ड्रेन) को संकट रोक्न स्वदेशमै अवसर सिर्जना र प्रविधिलाई उत्पादनसँग जोड्ने नीति पार्टीले लिनुपर्ने उनले उल्लेख गरेकी छन्।

परिणाममुखी राजनीति:

राजनीतिक प्रतिबद्धता र घोषणापत्रहरू कागजमा सीमित हुने परिपाटीको अन्त्य हुनुपर्ने खड्काको जोड छ। प्रतिबद्धता, योजना, कार्यान्वयन र परिणामको स्पष्ट शृङ्खला हुनुपर्ने भन्दै उनले नेताहरूको मूल्यांकन भाषणका आधारमा नभई कामको नतिजाका आधारमा हुनुपर्ने बताइन्।

कांग्रेसको १५ औँ महाधिवेशनमा खड्काको यो उम्मेदवारी र एजेण्डालाई पार्टीभित्र बढ्दै गएको युवा चेतना र रूपान्तरणको प्रयासका रूपमा हेरिएको छ।

केन्द्रीय सदस्य जितेर आफ्ना एजेन्डा कार्यान्वयन गर्ने भन्दै खड्काले आफूलाई जिताउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरुसँग आग्रह गरेकी छन् ।