मलेसिया रोजगारीमा नयाँ व्यवस्था: २७५ एजेन्सीमार्फत मात्रै कामदार पठाइने


काठमाडौं । नेपाली कामदारलाई मलेसिया पठाउने प्रक्रियामा आगामी ५ नोभेम्बर २०२६ देखि नयाँ भर्ती प्रणाली लागू हुने भएको छ। मलेसिया सरकारका लागि विदेशी कामदार व्यवस्थापन प्रणाली FWCMS सञ्चालन गर्दै आएको बेस्टिनेट एसडिएन. भिएचडी. (Bestinet Sdn. Bhd.) ले नेपालमा विद्यमान भर्ती प्रणालीलाई प्रिन्सिपल रिक्रूटमेन्ट एजेन्सी (PRA) र एसोसिएट रिक्रूटमेन्ट एजेन्सी (ARA) प्रणालीमा रूपान्तरण गर्न लागेको जनाएको हो।

बेस्टिनेटले ६ अक्टोबरमा जारी गरेको मेमोअनुसार अब FWCMS मा दर्ता भएका २५ वटा PRA र २५० वटा ARA मार्फत मात्रै नेपालबाट मलेसियामा नयाँ कामदार पठाउने प्रक्रिया अघि बढ्नेछ।

१५ अक्टोबरसम्म मेडिकल दर्ता

नयाँ प्रणाली लागू हुनुअघि पुरानो व्यवस्थाअन्तर्गत हुने बायो–मेडिकल दर्ताको अन्तिम मिति १५ अक्टोबर २०२६ तोकिएको छ। उक्त मितिसम्म कामदारको बायो–मेडिकल विवरण FWCMS मा सफलतापूर्वक दर्ता भई रेकर्ड कायम भइसकेको हुनुपर्नेछ।

मेडिकल सेन्टरहरूले पहिचान तथा बायोमेट्रिक दर्ता, स्वास्थ्य परीक्षण, प्रयोगशाला परीक्षण, पुनः परीक्षण, मेडिकल समीक्षा र रेकर्ड सच्याउन बाँकी रहेका काम समयमै सम्पन्न गर्नुपर्नेछ।

त्यस्तै, पुरानो प्रणालीअन्तर्गत मेडिकल पूरा गरिसकेका र VDR/कलिङ प्रक्रियामा रहेका कामदारको प्रक्रिया ३१ अक्टोबर २०२६ सम्म अघि बढाउन सकिने बेस्टिनेटले जनाएको छ।

५ नोभेम्बरदेखि नयाँ प्रणाली

नयाँ व्यवस्थाअनुसार सुरुमा FWCMS मा दर्ता भएका २५ PRA मार्फत नयाँ बायो–मेडिकल दर्ता सुरु हुनेछ। बेस्टिनेटले PRA प्रणालीको दर्ता तथा खाता सक्रियतासम्बन्धी तालिम २६ अक्टोबरमा र आधिकारिक दर्ता निमन्त्रणा तथा प्रणाली लिंक ४ नोभेम्बरमा उपलब्ध गराउने जनाएको छ।

तर प्रणालीमा खाता सक्रिय हुनु मात्रै सम्बन्धित एजेन्सीलाई बेस्टिनेटले स्वीकृति वा नियुक्ति गरेको अर्थ नलाग्ने स्पष्ट पारिएको छ। एजेन्सीको स्वीकृति तथा VDR सम्बन्धी निर्णय गर्ने अधिकार सम्बन्धित मलेसियाली सरकारी निकायमै रहनेछ।

पुराना मेडिकल रेकर्ड रद्द नहुने

नयाँ प्रणाली लागू हुँदैमा हाल भइरहेको मेडिकल सेवा तत्काल बन्द हुने वा पुराना कामदारका मेडिकल रेकर्ड स्वतः रद्द हुने छैनन्। मेडिकल सेन्टरहरूले पुराना रेकर्ड सुरक्षित राख्नुपर्ने तथा संक्रमणका नाममा दोहोरो दर्ता वा पुनः मेडिकल परीक्षण नगर्न बेस्टिनेटले निर्देशन दिएको छ।

नेपाल–मलेसिया संवादबीच नयाँ व्यवस्था

मलेसियाले यसअघि नै आफ्ना रोजगारदाता तथा उद्योगलाई नेपालका २५ PRA र २५० ARA मार्फत मात्रै कामदार ल्याउन निर्देशन दिइसकेको छ। नेपालले भने सीमित एजेन्सीमार्फत मात्रै कामदार लैजाने व्यवस्थाप्रति असहमति जनाउँदै आएको छ।

यस विषयमा नेपाल र मलेसियाबीच उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवाद जारी रहे पनि मलेसिया नयाँ प्रणाली कार्यान्वयनतर्फ अघि बढेको छ। अब दुवै देशको संयुक्त संयन्त्रमार्फत भर्ती प्रक्रियाको गाँठो फुकाउनुपर्ने अवस्था देखिएको छ।

नेपाली कामदारलाई के असर पर्छ?

नयाँ व्यवस्थापछि मलेसिया जाने नेपाली कामदारको भर्ती एजेन्सी, मेडिकल परीक्षण र VDR प्रक्रिया नयाँ संरचनाअनुसार सञ्चालन हुनेछ। विशेषगरी १५ अक्टोबरको मेडिकल दर्ता र ३१ अक्टोबरको VDR/कलिङ भिसा कट–अफ प्रक्रियामा रहेका कामदारका लागि महत्वपूर्ण समयसीमा बनेका छन्।