आज विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना


काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव देखिएकाले मौसममा बदली र वर्षाको अवस्था रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदली छ भने कोशी र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा पनि बादल लागेको छ।

मधेस प्रदेशसहित कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने आंशिक बदली रहेको छ। गण्डकी र लुम्बिनीका केही स्थान तथा बागमती, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसो हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकीका तराई क्षेत्रमा पनि मौसम बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपात हुनसक्ने महाशाखाले जनाएको छ।

पहाडी क्षेत्रमा पनि मौसम सक्रिय रहने देखिएको छ। कोशी, बागमती र गण्डकीका केही पहाडी स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङ तथा असिनासहित हल्का वर्षा र हिमपात हुनसक्ने पूर्वानुमान छ।

तराई क्षेत्रका केही स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। मधेससहित कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा थोरै स्थान तथा लुम्बिनी र सुदूरपश्चिमका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

राति पनि मौसम बदली, केही क्षेत्रमा हिमपात

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका अन्य हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहनेछ। तराई क्षेत्रमा भने आंशिक बदली रहने अनुमान छ।

रातिको समयमा कोशी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। देशका पहाडी भूभागका एक–दुई स्थानमा पनि चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मधेस प्रदेश तथा कोशीका तराई क्षेत्रमा थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। मौसममा आएको परिवर्तनसँगै विशेषगरी भारी वर्षाको सम्भावना रहेका बागमती र गण्डकीका केही क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।