भारतले दिने १८४ अर्ब ऋण आयोजनाको प्रगति अनुसार उपयोग हुन्छ : अर्थमन्त्री


८ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतबाट सहुलियतपूर्ण ऋणका रूपमा प्राप्त हुने १ खर्ब ८४ अर्ब रुपैयाँ आवश्यकता र आयोजना निर्माणको प्रगतिका आधारमा उपयोग गरिने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा भारत भ्रमणका क्रममा भएका सहमति तथा सम्झौताबारे सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले उक्त रकम ‘लाइन अफ क्रेडिट’ अन्तर्गत प्राप्त हुने जानकारी दिएका हुन्।

उनका अनुसार नेपालले भारतबाट ५६ अर्ब रुपैयाँ अनुदान र १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण प्राप्त गर्नेछ। यसले नेपालको पूर्वाधार विकास तथा ऊर्जा क्षेत्र विस्तारका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने उनको विश्वास छ।

नेपालमा करिब ४० हजार मेगावाट विद्युत् उत्पादनको सम्भावना रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक लगानी व्यवस्थापन गर्न भारतसँग ऋण सहयोगको व्यवस्था गरिएको बताए।

मन्त्री वाग्लेले भने, ‘भारत भ्रमणबाट नेपालले आर्थिक सहयोगसहित महत्वपूर्ण आर्थिक तथा कूटनीतिक उपलब्धि हासिल गरेको छ। यी उपलब्धिले नेपालको पूर्वाधार विकास, ऊर्जा क्षेत्रको विस्तार र अन्तर्राष्ट्रिय सम्पर्क सुदृढ गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।’

उनका अनुसार भारतबाट प्राप्त हुने सहुलियतपूर्ण ऋण विशेषगरी विद्युत् प्रसारण लाइनलगायत ऊर्जा पूर्वाधार निर्माणमा उपयोग गर्न सकिनेछ।

यसअघि अमेरिकी डलरमा ऋण लिँदा विनिमय दरमा हुने उतारचढावका कारण नेपालको वित्तीय दायित्व बढ्ने गरेको उल्लेख गर्दै उनले भारतीय रुपैयाँमै ऋण लिने र भुक्तानी गर्ने सुविधा उपलब्ध हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।

तर १ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको ऋण कुन ब्याजदरमा उपलब्ध हुने, भुक्तानी अवधि कति रहने र ग्रेस पिरियड कति हुने भन्ने विषयमा भने प्राविधिक तहको छलफल हुन बाँकी रहेको उनले स्पष्ट पारे।

यसअघि सडक निर्माणलगायतका आयोजनामा भारतको लाइन अफ क्रेडिट उपयोग गर्दा स्थानीय सामग्रीको प्रयोग तथा ठेकेदारसम्बन्धी सर्तका कारण विभिन्न समस्या देखिएको उनको भनाइ छ। यद्यपि ऊर्जा क्षेत्रका आयोजनामा यस्तो ऋण प्रभावकारी रूपमा उपयोग गर्न सकिने उनले बताए।

गौतमबुद्ध विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्धि

अर्थमन्त्री वाग्लेले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि दोहोरो हवाई रुट उपलब्ध हुनु पनि नेपालका लागि महत्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताएका छन्।

उनका अनुसार भारतसँगको सहकार्यबाट हवाई सम्पर्क विस्तार तथा अन्तर्राष्ट्रिय आवागमन सहज बनाउन थप अवसर सिर्जना भएको छ।