काठमाडौँ । बलिउडका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार गोवास्थित आफ्नै निवासमा बिहीबार बिहान उनलाई हृदयाघात भएको थियो।
हृदयाघातपछि चिकित्सकले करिब ४५ मिनेटसम्म सीपीआर दिएर बचाउने प्रयास गरे पनि सफल हुन सकेन। चिकित्सक डा. शेखर सालकरका अनुसार पाटेकरको बिहान ५ः२० बजे निधन भएको हो। उनको निधनपछि मेडिको–लिगल केस दर्ता गरी पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ।
हिन्दी तथा मराठी चलचित्रमा लामो समयदेखि सक्रिय पाटेकरले अभिनयमार्फत भारतीय चलचित्र क्षेत्रमा छुट्टै पहिचान बनाएका थिए। गम्भीरदेखि हास्य भूमिकासम्म उत्तिकै प्रभावशाली अभिनय गर्ने उनी दर्शकमाझ लोकप्रिय थिए।
सन् १९८९ मा आएको चलचित्र ‘परिन्दा’ मा अन्नाको भूमिका निर्वाह गरेपछि उनको अभिनयको व्यापक चर्चा भएको थियो। उक्त भूमिकाका लागि उनले उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार पाएका थिए। त्यसपछि ‘क्रान्तिवीर’ का लागि उत्कृष्ट अभिनेता र ‘अग्निसाक्षी’ का लागि उत्कृष्ट सहायक अभिनेताको राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए।
यससँगै पाटेकरले आफ्नो करियरमा तीन राष्ट्रिय फिल्म पुरस्कार जितेका थिए। भारतीय सिनेमामा पुर्याएको योगदानका लागि उनलाई सन् २०१३ मा पद्मश्रीबाट समेत सम्मान गरिएको थियो।
पाटेकर गम्भीर भूमिकाका लागि मात्र नभई हास्य अभिनयका कारण पनि चर्चित थिए। सन् २००७ मा प्रदर्शनमा आएको ‘वेलकम’ मा उनले निभाएको ग्याङ्स्टर उदय शेट्टीको भूमिका निकै लोकप्रिय बनेको थियो। उनले ‘वेलकम ब्याक’मा पनि सोही भूमिका दोहोर्याएका थिए।
अभिनयबाहेक पाटेकरको भारतीय सेनासँग पनि विशेष सम्बन्ध थियो। ‘प्रहार : द फाइनल अट्याक’ का लागि उनले मराठा लाइट इन्फेन्ट्रीसँग सैन्य तालिम लिएका थिए। उनले सैनिक जीवनलाई नजिकबाट बुझ्न सेनासँग समय बिताएका थिए।
सन् १९९९ को कारगिल युद्धका क्रममा समेत उनी सैनिकहरूसँग बसेका थिए। विभिन्न सैनिक पोस्टमा पुगेर उनीहरूको हौसला बढाएका पाटेकरले देशका लागि प्रत्येक नागरिकले आफ्नो तर्फबाट योगदान गर्नुपर्ने धारणा विभिन्न अन्तर्वार्तामा व्यक्त गर्दै आएका थिए।
लामो समयदेखि भारतीय चलचित्रमा सक्रिय पाटेकरको निधनसँगै हिन्दी तथा मराठी चलचित्र क्षेत्रले एक प्रभावशाली कलाकार गुमाएको छ।




प्रतिक्रिया