एक महिनाभित्र नतिजा सार्वजनिक गर्न शिक्षामन्त्रीको  निर्देशन


काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा परीक्षा सम्पन्न भएको एक महिनाभित्र विद्यार्थीको नतिजा सार्वजनिक गर्न निर्देशन दिएका छन्।

त्रिविको ६७औँ वार्षिक दिवसका अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले परीक्षा र नतिजा समयमै नआएको गुनासो मन्त्रालयमा आउने गरेको बताए।

उनले कुलपति एवं प्रधानमन्त्रीबाट समेत एक महिनाभित्र नतिजा सार्वजनिक गर्न निर्देशन आएको जानकारी दिए। शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनले विश्वविद्यालयका अधिकारलाई विकेन्द्रीकरण गर्नुपर्ने बताए।

‘अधिकार विकेन्द्रीकरण गर्न सकियो भने विश्वविद्यालय अझ प्रभावकारी रूपमा सञ्चालन गर्न सकिन्छ,’ उनले भने।

मन्त्री पोखरेलले काठमाडौं केन्द्रित दीक्षान्त समारोहको अभ्यास अन्त्य गर्दै अन्य प्रदेशमा समेत दीक्षान्त समारोह आयोजना गर्नुपर्ने धारणा राखे।

सरकार शिक्षा क्षेत्रको सुधारका लागि अघि बढिरहेको उल्लेख गर्दै उनले विश्वविद्यालयलाई ज्ञान र अनुसन्धानको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताए।

‘शिक्षा सुधारका लागि काम गरिरहेका छौँ। विश्वविद्यालय र विद्यालयको भूमिका छुट्याउन आवश्यक छ। विश्वविद्यालय थिङ्क ट्यांक हो,’ उनले भने।

शिक्षा ऐन निर्माण, पाठ्यक्रम सुधार र नयाँ शिक्षा नीति बनाउने काम अघि बढिरहेको बताउँदै उनले यी क्षेत्रमा विश्वविद्यालयको भूमिका अझ बलियो हुनुपर्ने बताए।

उनले त्रिविका आंगिक क्याम्पसको पूर्वाधार विकास, विदेशी विद्यार्थी आकर्षण, पारदर्शिता, डिजिटल प्रणाली, जीवनोपयोगी शिक्षा तथा अनुसन्धानमा केन्द्रित विश्वविद्यालय निर्माणमा जोड दिए।