नेपाललाई अस्ट्रेलियाले थप १ अर्ब ६१ करोड सहयाेग गर्ने


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच नेपाल–अस्ट्रेलिया सम्बन्धका विविध विषयमा छलफल भएको छ।

मेलबर्नमा बिहीबार भएको भेटमा दुई देशबीचको सहकार्य विस्तार, जलवायु परिवर्तन, शिक्षा, व्यापार, लगानी र प्रत्यक्ष हवाई सम्पर्कलगायत विषयमा कुराकानी भएको खनालको सचिवालयले जनाएको छ।

भेटका क्रममा विदेशमन्त्री वङले बाढी प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर (करिब १ अर्ब ६१ करोड रुपैयाँ) सहयोग घोषणा गरिन्। यसअघि अस्ट्रेलियाले आपत्कालीन प्रतिकार्यका लागि ११ मिलियन डलर सहयोग घोषणा गरेको थियो।

मन्त्री खनालले सहयोगप्रति आभार व्यक्त गर्दै जलवायु अनुकूलन, विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीमा सहकार्य बढाउन आग्रह गरे।

दुवै पक्षले शिक्षा, पर्यटन, नवीकरणीय ऊर्जा, श्रम गतिशीलता र आर्थिक साझेदारीलाई थप विस्तार गर्ने सहमति गरेका छन्।